आज मितिः २०८३ बैशाख ६ गते

भारी वर्षापछि राजमार्गहरु अवरुद्ध, हालसम्म ७४ जनाको मृत्यु, ८८ घाइते

काठमाडौं-

 

भारी वर्षापछिको बाढीपहिरालगायत विपद्का कारण मुलुकका विभिन्न १९ ठाउँमा राजमार्ग पूर्ण रुपमा अवरुद्ध हुन पुगेको छ ।

सोमबार साँझसम्मको विवरणअनुसार अवरुद्ध रहेका १४ स्थानमा भने एकतर्फी रुपमा सडक सञ्चालनमा ल्याइएको छ । ती सडकका पहिरो पन्छाएर तथा खोलेको बाटो मर्मत गरेर एकतर्फी सञ्चालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

यस्तै रोल्पाको सहिद राजमार्ग, रिडि–बाग्लुङ सडकखण्ड, स्याउलीवास–बाग्दुम्ला, चामे–बेँसीशहरलगायतका सडकखण्ड अवरुद्ध रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै सङ्खुवासभाको कोशी राजमार्ग पनि बन्द नै रहेको जनाइएको छ ।

पहिराका कारण अवरुद्ध म्याग्दीको बेनी–दरबाङ सडक तीन दिनपछि सञ्चालनमा आएको छ । अन्य विभिन्न जिल्लाका १४ स्थानमा पूर्ण रुपमा अवरुद्ध रहेकामा एकतर्फी सञ्चालन गरिएको प्रहरी प्रधान कार्यालयले विवरण सार्वजनिक गरेको छ । प्रहरीका अनुसार विभिन्न २७ जिल्लाका सडकमा विपद्बाट प्रत्यक्ष असर पुगेको छ ।
नेपालमा मनसुन सुरु भएयता आज दिउँसोसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुबानलगायत विपद्मा परी ७४ जनाको मृत्यु भएको छभने ८८ जना घाइते भएका छन्।

त्यस्तै विपद्जन्य घटनामा गरी काठमाडौँ उपत्यकामा एक, कोशी प्रदेशमा १८, मधेस प्रदेशमा तीन, बागमती प्रदेशमा चार, गण्डकी प्रदेशमा २२, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा चार गरी ७४ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

 

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.