काठमाडौं-
सरकारले आज बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ। बुधबार बिहान त्रिभुवन विमानस्थलमा पोखरा उडेको सौर्य एयरको नाइनएन( एएमईरसिआरजे २०० कलसाइनको जहाज दुर्घटना भएको थियो। उक्त जहाजमा पाइलट र को(पाइलट सहित १९ जना सवार थिए।
जसमध्ये १८ जनाको मृत्यु भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। पाइलट मनीष शाक्यको अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ।
यस्तै सरकारले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।
रतिश चन्द्रलाल सुमनको संयोजकत्वमा गठित समितिमा ५ सदस्य रहेका छन्। समितिमा नेपाल एयरलाइन्सका क्याप्टेन दिपु ज्वारचन, श्री एयरलाइन्सका इन्जिनियर सञ्जय अधिकारी, पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक सुदीप भट्टराई र पर्यटन मन्त्रालयका प्राविधिक अधिकृत मुकेश डंगोल रहेका छन् । समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।