पहाडी जीवन (मन्दाक्रान्ता छन्द )
क्वैली उड्दा कुहुकुहु गरी बज्छ पाखाेपखेराे ।
राख्ने छैनन् प्रकृति जननी भाव तेरो र मेरो ।।
धेरै राम्राे वन छ हरियो दाँज्न सक्तैन भाइ ।
पाना पाेत्नै कठिन अहिले लाग्न थाल्याे मलाई ।।१।।
गट्टा ठट्टा जमपिङ चुँगी भुल्न साह्रै छ गाह्राे ।
बस्ती मेरो सहर नभई गाउँ हाे गाउँ प्यारो ।।
सेतैसेताे घरभरि कुवा दिन्छ क्या मिष्ट पानी ।
छम्छम् नाच्छिन् प्रकृति तरुनी गाउँकी फूल रानी ।।२।।
भुल्छन् पीडा सब पथिकका छन्द गाना सुनेर ।
दिन्छिन् रानी प्रकृतिपनकी फूलमाला उनेर ।।
बालीनाली लहलह गरी झुल्छ साैन्दर्य छाई ।
आफैँ फुर्छन् फुरुरु कविता गाउँ घुम्दा मलाई ।।३।।
गाईबाख्रा वनतिर लगी बाँसुरी फुक्न थाले ।
दिन्छन् आशिष् कतिकति भनूँ स्वर्गका इन्द्रबाले ।।
आँखा मिच्दै छुपुछुपु गरी राेप्नलाई म धान ।
हाे हाे माले ह ह ह ह गरी गाउँको गर्छु गान ।।४।।
हाताे जाँताे सब मिलिजुली गर्नु हाे खेल दाइ ।
व्यर्थै हाेला कलम र मसी जिन्दगी पढ्नलाई ।।
राता गाला अझ कति बने सुन्तला स्याउ खाई
आफैँजस्ताे सरलपनकाे गाउँ प्याराे मलाई ।।५।।
सरू बस्नेत
निजगढ -७,बारा