“गुनासो”
बिहेमा जन्ती लिई आयौ
मण्डपबाट उठाइ लिई गयौ
वाचा, कसम खाई सिन्दुर हाल्यौ
मेरो जीवनमा हक जमाएर गयौ ।
उजाड थियो जीवन लाग्यो हरियाली छायो
अटुट नाता सम्बन्ध सधैँका लागि गाँसियो
तर क्षणिक रहेछन् मेरा भावनात्मक कुरा
टुटी गए यी निश्छल आँखाका सपना ।
मेरो सिउँदोमा थियो सिन्दूर तिम्रो नामको
मेरो गलामा थियो मङ्गलसूत्र तिम्रो नामको
मेरो कोखमा थियो बच्चा तिम्रो नामको
अब भन के छ तिमीसँग मेरो नामको ?
के नाम दिउँ म हाम्रो सम्बन्धलाई ?
वैवाहिक नाता बिचैमा अलमलमा पर्यो
न तिम्रो गल्ती थियो न मेरो
तर जीवनभर भएँ म एक्लो ।
अपरिचित भयौ अब तिमी मेरोलागि
दोस्री भैसकेँ अब म तिम्रोलागि
महान भयौ तिमी दुनियाँको लागि
बन्दी भएँ म यो समाजको लागि ।
आऊ छुटकारा देऊ सक्दिन म पिँजडामा थुनिन
गाउँघर,समाजलाई हर प्रश्नको जवाफ दिन
नगरेको पापको भागेदार बन्न
छैन अब केही तिमीलाई भन्न ।
-कठायत सोनिया
उर्लाबारी-१,मोरङ