चितवन-
चितवनको राप्ती नगरपालिकामा जनतासंग मेयर कार्यक्रममा समेत महालेखाले प्रश्न उठाएको छ । शीर्षक नै फरक पारेर रकम भुक्तानी गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
जनतासंग मेयर कार्यक्रमका लागि पालिकाले ३ वटा मिडियासंग दररेट लिई विशाल न्यूजसंग ४ लाख ९४ हजार रुपैयाँमा कार्यक्रमको सम्झौता गरेको छ । सेवा र परामर्श खर्च पत्रकारसंगको कार्यक्रम शिर्षकबाट सो रकम खर्च गरिएको छ । जनतासंग मेयर कार्यक्रम भनि यसरी भुक्तानी गर्न नपाइने बताइएको छ ।
कार्यक्रमको प्रस्तावना तथा सम्झौता अनुसार सम्पादित कार्यक्रमको अडियो, भिडियो स्थानिय मिडियाबाट ३५ देखि ५५ मिनेटको कार्यक्रम प्रशारण र छापाखानाबाट प्रकाशन र प्रसारण गरिने भनिएकोमा कार्यक्रम प्रकाशन तथा प्रशारण सम्बन्धमा स्पष्ट हुन नसकेको महालेखाले जानकारी दिएको छ ।
राप्ती नगरपालिकाले व्यक्तिलाई भ्रमण गर्नका लागि पेश्की दिएको खुल्नमा आएको छ । महालेखा महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन २०७९/२०८० अनुसार इन्जिनियर अर्जुन पौडेललाई अवलोकन भ्रमण गर्न ३ लाख रुपैयाँ पेश्की दिएको छ । तर, पेश्की लिएपनि अवलोकन भ्रमण नगरेको महालेखाले बताएको छ । उनले २०८० बैशाख १३ गते सो रकम लिएका छन् । यस्तै नगरपालिकाबाट विभिन्न संघसंस्था तथा कम्पनीले १ करोड १५ लाख ३३ हजार पेश्कि लिएर फछ्यौँट गरेका छैनन् ।