काठमाडौं-
महानगरका प्रमुख बालेन शाहले सामाजिक सञ्जालमा चेतावनी दिए पछि फोहोर बोक्ने गाडीका चार जना चालक रिहा भएका छन्। उनले रिहा नगरे सिंहदरबार लगायत सबै पार्टी कार्यालयको तथा नेताहरुको घरको फोहोर नउठाउने चेतावनी दिएका थिए।
उनले सामाजिक सञ्जालमा स्ट्याटस लेखेको एक घण्टा नबित्दै ती चालकहरू रिहा भएका हुन्। प्रमुख शाहले नियन्त्रणमा लिइएका चालकहरूलाई स–सम्मान रिहा गरिएको जानकारी दिएका छन्।
चालकको रिहाइपछि पुन अर्को स्ट्याटस यस्तो लेखे ‘जोकोहीले यत्ति बुझ्नुहोलास् पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला। तर नियम, कानुन र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरवासीको आत्मसम्मान हुन्छ। त्यसमा कसैले सम्झौता गर्न पाइँदैन। काठमाडौँ महानगर यसमा संवेदनशील छ।’

महानगरले आफ्ना कर्मचारीमाथि हुने अनाहकको अपमान नसहने बालेनको भनाइ छ। ‘अझ आफ्नो कर्तव्य निभाइरहेका आफ्ना कुनै कर्मचारी अनाहकमा अपमान महानगरले सहँदैन। बुझेर कदम चाल्नुहोला,’ उनले रिहा पछि यस्तो स्टाटस लेखेका हुन् ।