आज मितिः २०८१ चैत्र १० गते

चितवनको रत्ननगरमा गर्भवतीलाई निःशुल्क भिडियो एक्स–रे, इसिजी सेवा

चितवन-

चितवनको रत्ननगर नगरपालिकाले गर्भवती महिलालाई हरेक वडा–वडामा निःशुल्क भिडियो एक्स–रे, इसिजी तथा प्रयोगशाला सेवा सञ्चालन जारी राखेको छ । गत चैत ८ गतेदेखि वडा नं–८ बाट सुरू भएको यो सेवा प्रत्येक महिनाको १ गतेदेखि १६ गतेसम्म बिदाको दिनमा समेत सञ्चालन गर्दै आएको स्वास्थ्य शाखाका अधिकृत वासुदेव सापकोटाले जानकारी दिए ।

चुनावी अभियानमा मेयरका उमेदवार प्रलाद सापकोटाले गर्भवती महिलाका लागि वडा–वडामा निःशुल्क ल्याब सेवा सञ्चालन गर्ने प्रण गरेका थिए । सोही प्रतिबद्धताबमोजिम नगरपालिकाभित्रका करिब एक हजार ६ सय गर्भवती महिलालाई लक्षित गरी निःशुल्क भिडियो एक्स–रे, इसिजी तथा प्रयोगशाला सेवा सञ्चालन गरिएको नगरप्रमुख सापकोटाले बताए ।

‘नगरभित्रका गर्भवती महिला र पेटभित्रको शिशुको अवस्थाबारे जानकारी लिन अस्पतालसम्म पुग्न नपरोस् भन्नाका लागि सो सेवा सञ्चालनमा ल्याइएको हो’, उनले भने, ‘यो सेवा हरेक वडामै सञ्चालन गरेपछि गर्भवती महिलालाई कम्तीमा सात हजार रूपैयाँ व्ययभार कम हुनुका साथै अस्पतालमा हुने चापसमेत घटाउँछ ।’

 

यस्तै, इसिजी गराएका गर्भवती महिलामध्ये चार जनामा समस्या देखिएको इसिजी प्राविधिक निर्दोषी घिमिरेले जानकारी दिइन् । सिअहेव अधिकृत वासुदेव सापकोटाले वडा नं–१५ मा एक गर्भवतीको भिडियो एक्स–रे गर्ने क्रममा पाठेघरमा मरेको बच्चा पत्ता लागेको र समयमै समस्या पहिचान गरिएकोले गर्भवती आमालाई बचाउन सफल रहेको बताए ।

रत्ननगर नगरपालिकामा एक वर्षमा एक हजार ६ सय गर्भवतीले निजी अस्पतालमा सो सेवा लिनुपरे कम्तीमा एक करोड बढी खर्च लाग्ने जनस्वास्थ्य अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिए ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.