काठमाण्डौ –
वैशाख कृष्ण औँसी, अर्थात् आमाको मुख हेर्ने दिन। नेपाली संस्कृतिमा यो दिन मातातीर्थ औँसीका नामले परिचित छ।
दुःखकष्ट खेपेर ९ महिनासम्म कोखमा राख्ने, जन्मिसकेपछि अमृततुल्य दूध र वात्सल्य दिएर हुर्काउने आमाको सम्मानमा यो पर्व मनाइन्छ।
छोराछोरीले आज बिहानै उठी स्नान गरी आमालाई मनपर्ने खानेकुरा खुवाउने, लुगाफाटोलगायत उपहार दिने र उनीसँग आशीर्वाद थाप्ने परम्परा छ। आमा नभएकाले भने तर्पण वा श्राद्ध गरेर उनको सम्झना गर्छन्।
दूधको भारा तिर्न साह्रै कठिन हुन्छ भन्ने मान्यता छ। ‘कुपुत्रो जायते क्वचदपि कुमाता नभवति’ अर्थात् सन्तान खराब बन्न सक्छन् तर आमा छोराछोरीका लागि खराब कहिल्यै हुन सक्दिनन् भन्ने मान्यता छ।
महाभारतको वन पर्वमा ‘पृथ्वीभन्दा पनि ठूलो चीज के हो’ भन्ने यक्षको प्रश्नमा युधिष्ठिरले जवाफ दिएका छन्, ‘संसारमा पृथ्वीभन्दा ठूली आमा हुन्।’
औँसीका दिन आज मातातीर्थमा स्नान र पूजा गर्ने श्रद्धालुको जति भीड हुने गर्दछ, त्यतिकै भीड गोकर्णमा हुने कान्ति भैरवको जात्रामा पनि हुने गर्दछ ।