१८ चैत्र,आइतबार
काठमाडौं-
गएराति काठमाण्डौसहित देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित पानी परेको छ । केही ठाउँमा असिनापानीसमेत परेको छ । हावाहुरी र असिनापानीले बालीनालीमा क्षति पुगेको छ । मध्यपश्चिमदेखि पूर्वी क्षेत्रसम्मै हावाहुरीको असर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हिजो नेपालगञ्ज, दाङ र पोखरा आसपासमा विकास भएको न्यूनचापीय प्रणालीले हावाहुरी र चट्याङसहित वर्षा भएको हो । नेपालगञ्ज र दाङ आसपास विकास भएको प्रणाली केही कमजोर देखिएको तर पोखरा आसपासमा विकास भएको प्रणाली केही शक्तिशाली देखिएको मौसमविद मिनकुमार अर्यालले जानकारी दिनुभयो ।
आज मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ। देशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी तथा कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।