काठमाडौं-
नेपाली कांग्रेस पार्टीको महासमितिको बैठक आजदेखि ललितपुरको गोदावरीमा सुरु हुँदैछ।
विसं २०७८ मङ्सिर २४ गते काठमाडौँमा सम्पन्न भएको १४ औँ राष्ट्रिय महाधिवेशनको दुई वर्ष तीन महिनापछि ‘नीति अधिवेशन’का रुपमा लिएको महासमिति बैठकमा भाग लिनका लागि देशभरबाट महासमिति सदस्य राजधानी आइपुगेका छन्।
ललितपुरको गोदावरीस्थित सन्राईज हलमा आज दिउँसो १ बजे पार्टीका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ। राजनीतिक स्थायित्व, रुपान्तरण र नविनता ! स्वतन्त्रता, न्याय र समानता !! नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता। भन्ने मूल नाराका साथ सुरु हुन लागेको महासमिति बैठकमा देशभरबाट दुई हजारभन्दा बढी महासमिति सदस्यको सहभागिता हुँदैछ।
महासमिति बैठकमा वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्य एक सय १६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्य एक हजार सात सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जनाको सहभागिता हुँदैछ।
केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराउन लागिएको छ।