काठमाण्डौं-
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रवेशसँगै शनिबार साँझदेखि चिसो हावा चल्न थालेको र आइतबार देशका विभिन्न भागमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
आइतबार देशैभर बदली भए पनि सुदूरपश्चिम र कर्णालीका धेरै क्षेत्रमा वर्षा हुने महाशाखाले जनाएको छ । त्यस्तै, गण्डकी र लुम्बिनीका केही क्षेत्रमा तथा बागमतीका थोरै स्थान र बाँकी क्षेत्रको पहाडी भागमा छिटपुट वर्षाको सम्भावना छ ।
तराई क्षेत्रमा पश्चिमबाट लुम्बिनीसम्म वर्षा भए पनि त्यहाँदेखि पूर्वतिर भने सम्भावना नरहेको महाशाखाले जनाएको छ । त्यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । सोमबार साँझदेखि भने पश्चिमी वायु कमजोर हुने आकलन गरिएको छ ।