सर्लाही-
जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। शुक्रबार प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले कर्फ्यु आदेश जारी गरेका हुन्।
बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई लिएर राजनीतिक दलबीच भएको विवाद विरोधप्रदर्शनमा परिणत हुँदा बरहथवा–६ का ३० वर्षीय जयशङ्कर साहको मृत्यु भएको छ। बरहथवा नगरपालिका प्रमुख कल्पना कटुवालको निवास तथा नगरपालिकामा ढुङ्गामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो।
बरहथवा नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, बहुजन र जनमत पार्टीले प्रदर्शन गर्दा स्थिति तनावपूर्ण बनेको हो।