काठमाडौं-
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम असुल्दै आएका ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१ का ४७ वर्षीय लालबहादुर लामालाई पक्राउ गरेको छ । लामालाई प्रहरीले काठमाडौँ महानगरपालिका–३१ शङ्खमूलबाट पक्राउ गरेको हो।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार काठमाडौँको महाराजगञ्जमा सी स्टार ट्रेनिङ सेन्टर सञ्चालन गरेका लामाले लिथोनिया, क्यानडा, सिङ्गापुरलगायत देशमा आकर्षक पारिश्रमिक पाइने प्रलोभन दिँदै विभिन्न व्यक्तिसँग सो रकम असुलेको आरोपमा उनलाई पक्राउ गरिएको हो।
उनले पीडित व्यक्तिबाट पाँच लाखदेखि १५ लाखसम्म असुल्दै वैदेशिक रोजगारमा पठाउन नसकेको र कतिपय व्यक्तिलाई सिङ्गापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएको अनुसन्धानको क्रममा खुलेको प्रवक्ता रेग्मीले बताए।
प्रहरीले उक्त ट्रेनिङ सेन्टरबाट नौ सय ९७ थान राहदानी समेत बरामद गरेको छ।