काठमाण्डौ –
आईसीसी विश्वकप लिग–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा ओमान ‘ए’लाई २ विकेटले पराजित गरेको छ ।
ओमान क्रिकेट एकेडेमीमा हिजो भएको अभ्यास खेलमा ओमान ‘ए’ले नेपाललाई जितका लागि १६१ रनको लक्ष्य दिएको थियो । नेपालले यो लक्ष्य ८ विकेट गुमाएर पूरा गरेको हो ।
नेपालका लागि इशान पाण्डेले सर्वाधिक ७२ रन बनाए । आसिफ शेखले ३७, देव खनालले ३४, गुल्शनकुमार झाले ३० तथा दीपेन्द्रसिंह ऐरीले १९ रनको योगदान दिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमान ‘ए’ले ३९ ओभर ५ बलमा सबै विकेट गुमाएर १६० रन बनाएको थियो ।
ओमान ‘ए’का कप्तान हम्माद मिर्जाले सर्वाधिक ५४ रन बनाए । जिक्रिया इस्लामले ३५ तथा सन्जु सजीवले ३४ रन जोडे । नेपालका लागि बलिङतर्फ नन्दन यादवले ३ विकेट लिए । करण केसी र सन्दीप लामिछानेले २–२ तथा गुल्शनकुमार झा, ललितनारायण राजवंशी र शाहब आलमले १–१ विकेट लिए ।