चितवन-
नेपाली काँग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र सांगठनिक सरगर्मी ह्वात्तै बढेको छ।
यसै क्रममा वडाबाट निर्वाचित कार्यसमितिका सदस्यहरू तथा क्षेत्रीय अधिवेशनका प्रतिनिधिहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै चितवन क्षेत्र नम्बर १ बाट राष्ट्रिय सभा सदस्य तथा नेतृ माननीय गीता देवकोटाले महाधिवेशन प्रतिनिधि (महिला खुला) पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।विगत लामो समयदेखि नेपाली काँग्रेसको वैचारिक धरातल र संगठन निर्माणमा निरन्तर समर्पित रहँदै आउनुभएकी देवकोटा हाल चितवनबाट नेपाली काँग्रेसको एकमात्र संघीय सांसद (राष्ट्रिय सभा सदस्य) हुनुहुन्छ। सदनमा जिल्लावासी र समस्त काँग्रेसजनको शीर उच्च राख्न निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै उहाँले सोही जिम्मेवारीबोधका साथ १५औँ महाधिवेशनमा महिला खुला तर्फबाट महाधिवेशन प्रतिनिधिका लागि अमूल्य मत र सहयोगको अपिल गर्नुभएको छ।
आफ्नो उम्मेदवारीसँगै उहाँले १० बुँदे महत्वपूर्ण संकल्पहरू सार्वजनिक गर्नुभएको छ। दशकौँदेखि कायम राजनीतिक निष्ठालाई निरन्तरता दिँदै सदनमा चितवनको स्वाभिमान र आवाजलाई सदैव सशक्त रूपमा उठाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ।
साथै, चितवनको विकास, सुशासन र नागरिक अधिकारका मुद्दाहरूलाई राष्ट्रिय नीति निर्माणको तहमा प्राथमिकताका साथ प्रस्तुत गर्दै लोकतन्त्र, संविधान र विधिको शासनप्रति कुनै पनि सम्झौता नगरी दृढतापूर्वक उभिने उहाँको अठोट छ।विशेष गरी पार्टी र राज्यका नीति निर्माण तहमा महिलाहरूको अर्थपूर्ण र नेतृत्वदायी सहभागिता सुनिश्चित गर्न निरन्तर आवाज उठाउँदै आउनुभएकी नेतृ देवकोटाले राजनीतिलाई व्यक्तिगत लाभभन्दा माथि उठेर समाजसेवा र विपन्न वर्गको उत्थानको माध्यम बनाउने सङ्कल्प लिनुभएको छ। वडा र टोल तहका निष्ठावान् कार्यकर्ताहरूको योगदानलाई केन्द्रसम्म स्थापित गर्ने, आन्तरिक एकता बलियो बनाई पार्टीलाई जनमुखी र गतिशील बनाउने तथा स्वच्छ र नैतिक आचरणमार्फत पार्टीको गरिमा बढाउने प्रतिबद्धता उहाँको छ।
सदनको जिम्मेवारीका साथसाथै जिल्लाका प्रत्येक तहका साथीहरूको सुख:दुःखमा सधैँ साथ रहने प्रतिबद्धता व्यक्त गर्दै उहाँले १५औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि महिला खुला पदका लागि सम्पूर्ण प्रतिनिधिहरूबाट अमूल्य मत, विश्वास र सद्भावको अपेक्षा राख्नुभएको छ। सम्पर्क ९८४५०६३५५७०