कविता – प्रिय फूल
तिमी वृक्षको फूल
म तिम्रो फेदमा फुलेको
झारको फूल
फूल त फूल नै हौं।
रूप , रङ्ग,बास्ना
फरक भए पनि
हाम्रो जरा
माटो बाटै
सुरु भएको हो ।
जहाँ जसरी फुले पनि ,
फुूलेपछि एकदिन
भुइँमा झर्नैपर्छ
किनकि जराको
स्थान माटोमा हुन्छ।
तिमी पनि झर्छौ
म त भुइँ फूल
भुइँमा नै छु
तर तिमी झर्दा
तिम्रो ठूलो थुङ्गाले
मेरो पुरै बस्ती छोपिन्छ
तिम्रो ठूलो आकार छ
अरुले पनि हेर्छन्
या देखेर हेर्छन्
अरुले जस्तै
म पनि तिमीलाई
हेर्न खोज्छु
अफसोस हेर्न सक्दिनँ।
तिमीले छोप्छौ , किच्छौ।
लह लह भएर फुलेको बेला
एक अर्कालाई हेर्न पनि
आफ्नै तह र
औकातमा फुल्नु पर्दोरहेछ।
जे होस्
आखिरी बास्नाहिन हुँदै
दुवै ओइलिन्छौं ,दुवै सुक्छौँ ।
हावाले दुवैलाई उडाउँछ ,
काँही खोंचमा पछार्छ,
पछारिनै पर्छ ।
पछारिएको खोंच फरक होला १
तर धरती उही हो।
कसैले आगो लगाए
आगोमा बल्छौं।
पहिरो गए माटोमा मिल्छौँ
बाँचुन्जेल तिम्रो र मेरो
जीवनचक्र उही हो।
केवल आकार फरक हो।
अनि के को अहम् प्रिय फूल ?
– निर्मला देवी तिम्सिना कान्छी