भरतपुर,
श्रावण ३० – वे ग्रुप नेपालको आयोजनामा भरतपुरको वडा नं. ४ को चितवन फुड मार्ट पार्टी प्यालेसमा खुल्ला तीज गीत प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा २१ महिला समुहहरूले सहभागिता जनाएका थिए। तीज पर्वको सांस्कृतिक महत्वलाई उजागर गर्ने र वातावरण सरसफाइ सम्बन्धि जनचेतना जगाउने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा संगम आमा समूह भरतपुर–९ ले प्रथम स्थान हासिल गरेको छ। शान्ति कुञ्ज महिला उद्यमी सहकारी संस्था रत्ननगर–१२ दोस्रो स्थानमा तथा आनन्द महिला समूह भरतपुर–५ तेस्रो स्थानमा रहे।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला सम्नवय समिति चितवनका उप-प्रमुख कल्पना काफ्ले सापकोटा रहनुभएको थियो भने विशिष्टमा पूर्व सामाजिक तथा विकास मन्त्री तथा बाग्मती प्रदेशका माननीय विजय सुवेदी , संस्थापक अध्यक्ष भोज नारायण कँडेल, वातावरण तथा विपद् महाशाखा प्रमुख विस्सुराम कुँवर, वडा अध्यक्ष (नवलपुर–२) प्रकाश सापकोटा, एनआरएनए उप महासचिव सोमनाथ सापकोटा तथा महिला यौन तथा हिंसा विरुद्ध अभियानका अध्यक्ष मिना खरेलको उपस्थिति रहेको थियो। कार्यक्रमको सभाध्यक्ष दिपक गौतम तथा संयोजक चन्द्रावती आचार्य रहनु भएको थियो।
निर्णायक मण्डलमा संगीतकार तथा गीतकार मधुसुदन घिमिरे, सञ्चारकर्मी तथा साहित्यकार अजिता अधिकारी, र लोक गायिका सरिता गुरुङ श्रेष्ठ रहनु भएको थियो। कार्यक्रम सञ्चालन संस्थाका उपाध्यक्ष हरी प्रसाद न्यौपाने, सचिव शालिकराम आचार्य तथा सह–सचिव अनिता पोख्रेलले गर्नुभएको थियो।
प्रतियोगितामा प्रथम स्थान प्राप्त समूहलाई नगद रु. २०,००० सहित मनाङ्ग फुड्सबाट ए ग्रेडको वासमति चामल प्रदान गरिएको थियो। साथै, प्रत्येक सहभागी समूहलाई २५० ग्रामको मनाङ्ग चियापत्ति उपहारस्वरूप प्रदान गरिएको थियो।
कार्यक्रमको अन्त्यमा सभाध्यक्षद्वारा सहभागी समूह, अतिथि तथा प्रायोजकहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरिएको थियो।