चितवन-
चितवनमा सातजना औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन्। औलो रोग संक्रमणको आशंकामा उपचारका लागि आएका सात हजार ९८९ जनाको नमुना परीक्षण गर्दा सातजनामा संक्रमण देखिएको हो।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार यसरी संक्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका छन्। गत आर्थिक वर्षमा १० जनामा उक्त रोगको संक्रमण देखिएको थियो। १५ वर्ष उमेरभन्दा बढीमा यो रोग देखिएको उनले बताए। यो रोग एनोफलिज जातको लामखुट्टेले टोक्दा हुने गर्दछ। रोग लाग्दा ज्वरो आइरहने वा दिन बिराएर ज्वरो आउने, टाउको बेस्सरी दुख्ने, बान्ता हुने, जाडो हुने, कम्पन छुट्ने, पसिना आएर ज्वरो घट्ने लक्षण देखिने गरेको छ।
अहिले औलो रोग निवारण गर्ने गरी कार्यक्रम सञ्चालन हुँदै आएको छ। नेपालमा पी भाइभाक्स परजीवी ७० देखि ८० प्रतिशत देखिने गरेको छ। विदेशबाट आउने नेपालीमा पी फाल्सिपारम परजीवी भेटिने गरेको उनले बताए। औलो संक्रमित लामखुट्टेको टोकाइबाट यो रोग सर्दछ। घर, गाउँ र समुदाय सफा राखी लामखुट्टेले अन्डा पार्ने ठाउँलाई पुर्ने, सुत्दा झुलभित्र सुत्नेजस्ता कार्य गर्नु आवश्यक रहेको उनले बताए।