काठमाडौँ । चितवनका जनताले ठूलो आश गरेर २/२ पटक संघिय संसदमा भारी मतले विजयी बनाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारीको रकम हिनामिनामा संलग्न भएको छानविन समितिले ठहर गरेको छ ।
उनले यसअघि कान्तिपुर दैनिकले सहकारीको ऋणका विषयमा आफ्नो नाम मुछेर समाचार प्रकाशन गरेकोप्रति गाली बेइज्जती मुद्दा दर्ता गराएको पर्चा सामाजिक सञ्जालमा राख्दै भनेका थिए, “मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन ।” नेकपा एमाले सांसद सूर्यबहादुर थापा नेतृत्वको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित सहकारीको रकम ठगीमा संलग्नहरूलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन तयार गरेको छ । उक्त प्रतिवेदन आजै सदस्यहरूले हस्ताक्षर गरेर संसद्लाई बुझाउने छ ।
समितिको छानबिनमा लामिछाने दोषी देखिएको समितिका एक सदस्यले जानकारी दिए । उनका अनुसार विभिन्न सहकारीबाट लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा आएका रकम खर्च गर्दा लामिछानेको हस्ताक्षर रहेकाले उनी पनि रकम अपचलनमा संलग्न भएको पुष्टि भएको हो ।
सहकारी पिडितहरुको दवाव र उजुरीका आधारमा विभागका रजिस्ट्रार पीताम्बर घिमिरेले तीनवटा सहकारीहरू प्रदेश र स्थानीय तहको क्षेत्राधिकारमा पर्ने भएका कारण सम्बन्धित प्रदेशहरूमा पठाएर छानविन गर्दा लामिछाने जोडिएको भेटिएपछि सोही अनुरुप छानविन समितिलाई प्रमाण जुटाउन सहज भएको थियो ।
ग्यालेक्सी टीभीको सन्दर्भलाई लिएर सहकारीको विषयमा कारबाही गरी पाऊँ भन्ने उजुरी परेपछि गोर्खा मिडिया नेटवर्कले कर्जा लिएको र त्यस्तो कर्जा गैरकानुनी भएको दाबी गरिएको छ ।
राजनीतिमा प्रवेश गर्नुअघि लामिछाने ग्यालेक्सी टीभीका शेयरधनी तथा उक्त कम्पनीका प्रबन्ध निर्देशक थिए । उक्त टिमी डुबाएर लवि लामिछाने पार्टी खोलेर राजनीतिमा होमिएका थिए । सहकारीको रकम हिनामिना गरेको आरोप उजुरीमा लगाइएको छ ।
पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले गोरखा मिडिया कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको भेटिएको समितिले जनाएको छ ।
‘४० वटा सहकारीमध्ये एक अर्बभन्दा तल रकम अपचलन गर्ने कुनै देखिएन । जीवी राईको ८ अर्ब अपचलन देखिन्छ, केदारनाथ शर्माको ३३ अर्ब छ । सुमेरुकै छ १५ अरब छ’, एक सदस्यले भने, ‘विभिन्न सहकारीबाट गोरखा मिडिया नेटवर्कमा आएको पैसा खर्च गर्नेमा रवि लामिछानेको संलग्नता देखियो ।’
छानिविन समितिले गोरखा मिडियामा सहकारीमार्फत पैसा ल्याउने प्रक्रियाको जिम्मा जीवी राईले गरेको पाइएको पनि जनाएको छ । ‘रवि कार्यरत रहेको १४ महिनाको समयमा गोरखा मिडियामा ६५ करोड खर्च भएको छ, जसको हस्ताक्षर रविले गरेका छन् । जीबीले एउटा ४० लाखको चेकमा हस्ताक्षर गरेका छन्’, अर्का समिति सदस्यले रातोपाटीलाई भने, ‘गोरखा मिडिया नेटवर्कको रवि प्रबन्ध निर्देशक समेत भएकाले उनको संलग्नता पुष्टि भएको हो ।’
रवि, जीवी र छवि समेतले गैरकानुनी ढंगले सेयर लिएको, पैसा जम्मा गरेको र भौचर समेत बुझाएको देखिएको समितिले भनेको छ । ‘संलग्नहरूलाई कानुनी कारबाही गर्न समितिले सिफारिस गर्ने सहमति भएको छ’, एक सदस्यको भनाइ छ ।