निर्देशक समुन्द्र भट्टले निर्देशन गरेकी चलचित्र गुलाबी कात्तिक ९ (अक्टोबर २५) बाट देशभर रिलिज हुने भएको छ। भर्सटायल अभिनेता नाजिर हुसेनले यस चलचित्रको चरित्र निर्माणका लागि निकै संघर्ष गरेका छन् ।
त्यस्तै चलचित्रको चरित्र निर्माणका लागि भट्टले पनि चलचित्रलाई उति नै मिहिनेत गरेकी छिन्।
निर्देशक भट्टले चलचित्रको पटकथा निर्माण र अनुसन्धानमा लैंगिक अल्पसंख्यकको क्षेत्रमा कार्य गर्ने संस्थाहरू ‘नीलहिरा समाज’ र ‘मितिनी नेपाल’सँग पनि परामर्श गरेकी थिइन्। धेरै खोज र अनुसन्धानपछि उनले यस चलचित्रमा आफ्नो ज्यान भरेको बताइन्।
अमेरिकी कम्पनी ‘भिजन इन्टरटेन्मेन्ट’ र ‘दी स्काई ओसन इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको चलचित्रले पारलैंगिकताको कथालाई उठान गरेको छ। चलचित्रमा समुन्द्र भट्ट र नाजिर हुसेनको पटकथा तथा संवाद छ। नाजिरका अलावा चलचित्रमा अभिनेत्री सञ्चिता लुइँटेल, सुशील सिटौला, अनुपम श्रेष्ठ र विशाल पहारीलाई पनि मुख्य भूमिकामा देख्न सकिन्छ।
चलचित्रको पोस्टरमा नाजिर फरक लुक्समा देखिएका छन्। नाजिर पहेँलो रंगको वान पिसमा छन्। उनले एउटा हातमा विग ९नक्कली कपाल० बोकेका छन् भने अर्को हातमा हिल्स बोकेका छन्। उनको शरीरमा कहीँ कतै चोटको निशान छ। नाकमा नथिया, कानमा झुम्का र पूरै शृंगारमा सजिएका नाजिरको ‘ट्रान्सवुमन लुक्स’ देखिन्छ।
नेपालको पहिलो पूर्ण रूपको ट्रान्स स्टोरीमा निर्मित यो चलचित्र नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको हो। चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन्।
आलोक शुक्लाले खिचेको चलचित्रमा लेखु सहयात्रीको गीत रचना, विजय बस्यालको प्रोडक्सन डिजाइन र सुरक्षा भट्टराईको मिडिया कोर्डिनेसन रहेको छ। चलचित्रमा पुष्कर लामा प्रोडक्सन हेडमा र राम भण्डारी क्रिएटिभ हेडमा छन्।
चलचित्रलाई लिएर भट्ट निकै आशावादी छिन्।