आज मितिः २०८३ बैशाख ६ गते

शनिबार बेलुकासम्म बाढीपहिरोमा ८ जनाको मृत्यु, ५ जना बेपत्ता

काठमाडौं-

 

शनिबार बेलुका ९ बजेसम्म मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । काठमाडौं, काभ्रे तथा स्याड्जामा उनीहरुको मृत्यु भएको हो। पहिरोमा ५ जना बेपत्ता छन्।

कतिपय स्थानमा वर्षा नरोकिएकाले जनधनको क्षति अझै हुन सक्ने प्रहरीको अनुमान छ। मौसम विज्ञान विभागले सोमबारसम्म वर्षा हुने अनुमान गरेको छ।

काभ्रेको रोशी गाउॅपालिका( ११ मा भ्याकुरे खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रोशी( ११ भीमखोरीकी ६५ वर्षीया जलमाया रुचाल मगर र ५ वर्षकी सेतीमाया रुचाल मगर छन् । उनीहरु फुपू भदैनी हुन् । खोला तर्ने क्रममा बगेका उनीहरुको शव ९०० मिटर तल फेला परेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

पर्वतको फलेवास नगरपालिका–१ कार्कीनेटामा पहिराले घरसहित दुईजना पुरिएका छन् ।

स्थानीय अम्फिडाँडाका कुलप्रसाद पाध्याको घर पुरिँदा उनका ४० वर्षीय छोरा झलक शर्मा र स्याङ्जाको आँधीखोला गाउँपालिका–३ का ३२ वर्षीय तुलसीराम पौडेल पुरिएका हुन् । स्थानीय र सुरक्षाकर्मीले उद्धारको प्रयास गरे पनि वर्षा नरोकिएका कारण कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

उक्त स्थानमा थप पहिरो आउने जोखिम रहेकाले थप मानवीय क्षति हुन नदिन उद्धारकर्ताको सुरक्षालाई ध्यानमा राखेरका काम अगाडि नबढेको कार्कीनेटाका वडाध्यक्ष चोलाकान्त पाध्याले जानकारी दिए। पहिरामा पाध्याका दुईवटा भैँसी, एउटा गोरु र चार बाख्रा पनि पुरिएका छन् ।

त्यस्तै बाढी र पहिरोका कारण देशभरमा दर्जनौं स्थानमा सडक यातायात अवरुद्ध भएका छन् । बाढी र पहिरोमा परेकाहरुको तत्काल उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित भएका छन् । कतिपय स्थानमा प्रदेश र स्थानीय तहका अधिकारीहरु र राजनीतिक दलका नेता–कार्यकर्ता पनि जुटेका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बितेका २४ घण्टामा देशभर वर्षा भएको छ । लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा सबैभन्दा धेरै वर्षा भएको छ । कतिपय क्षेत्रमा तीन दिनदेखि पानी रोकिएको छैन । ठूला–साना सबै नदीनालाको सतह उच्च स्तरमा आएको छ । राजधानी काठमाडौंका नदी र खोलाको सतहभन्दा माथि पानी आएकाले केही क्षेत्र डुबानमा परेका छन् । सुकुम्बासी बस्तीमा नदीको पानी छिर्दा समस्यामा छन् । भक्तपुरको हनुमन्ते खोला आसपासमा पनि बाढी पसेको छ । बल्खुस्थित तरकारी बजार पूर्ण रुपमा डुबानमा परेको छ ।

यस्तै, तराईका कतिपय स्थानमा खेतीयोग्य जमिन कटान भएको छ भने केही ठाउँमा सडकका कल्भर्ट बाढीले बगाएको छ । केही पुलमा क्षति पुगेको छ । यस्तै, बाढी र पहिरोका कारण केही स्थानका जलविद्युत केन्द्रहरुमा पनि क्षति पुगेको छ । गृह मन्त्रालयमा विपद्का घटना र ती घटनाको व्यवस्थापनबारे छलफल गर्न बसेको आपतकालीन बैठकले तत्काल उद्धारमा खटिन सबै निकायलाई निर्देशन दिएको छ ।

बैठकमा गृहमन्त्री रबि लामिछानेले पहिरोको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन दिएका छन् । विपद्का घटना तुरुन्त सम्बोधन गर्न र सतर्कताका साथ आफ्नो जिम्मेवारी पूरा गर्न उनले सुरक्षा अधिकारीहरुलाई निर्देशन दिए । जनधनको क्षति हुन नदिन र खाद्यान्न, लत्ता कपडालगायत सामग्रीको अभाव हुन नदिन उनले आग्रह गरे ।

 

अविरल वर्षाका कारण देशभरका विद्युत उत्पादन गृह प्रभावित भएका छन् । कतिपय स्थानमा विद्युत आपूर्तिमा अवरोध भएको छ ।

विद्युत प्राधिकरणका अनुसार शुक्रबार साँझदेखिको वर्षाका कारण झण्डै पाँच सय ३० मेगावाट बिजुली उत्पादन गर्ने विद्युत गृह बन्द भएका छन् । निजी क्षेत्रका आयोजनासमेत जोड्दा झण्डै ६ सय ४० मेगावाट बिजुली उत्पादन गर्ने विद्युत गृह बन्द भएका छन् ।

प्राधिकरणको सहायक कम्पनी अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले सञ्चालन गर्ने चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी बाढीका कारण शुक्रबार साँझदेखि बन्द छ । यस्तै, ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ‘ए’ १० मेगावाट क्षमताको सुनकोशी जलविद्युत आयोजनासमेत बन्द भएको छ । प्राधिकरण र यसका सहायक कम्पनीले सञ्चालन गर्ने आयोजना बन्द भएका हुन् ।
प्राधिकरणको भार प्रेषण केन्द्रले उपलब्ध गराएको विवरणअनुसार ३६ मेगावाट क्षमताको बलेफी, २० मेगावाट क्षमताको तल्लो मोदी, १८ मेगावाट क्षमताको मध्यमोदी, ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया पनि बाढीका कारण बन्द भएका छन् । नदीमा बाढी आउने क्रम कम भएपछि ती आयोजना सञ्चालनमा ल्याइने प्राधिकरणले जनाएको छ ।

केही आयोजना भने कम क्षमतामा चलेका छन् । प्राधिकरणका अनुसार सोलु दूधकोशी ५० मेगावाट, लिुख एक ४७ मेगावाट, लिखु दुई २९ मेगावाट, मध्य तमोर ३८ मेगावाट, मोदी सात मेगावाट, त्रिशूली छ मेगावाट, देवीघाट जलविद्युत केन्द्र पाँच मेगावाट र चमेलियाबाट १४ मेगावाटमात्रै विद्युत उत्पादन भइरहेको छ ।

दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एकजना बेपत्ता भएका छन् भने तीन वटा घर बगेका छन् । शुक्रबार राति रोल्वालिङ खोलाको बाढीले रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी गौरीशंकर–९ का वडाध्यक्ष निमा गेली शेर्पाले बताए ।

दाङमा बाढीमा परी एक जना बेपत्ता भएका छन् भने एक जनाको मृत्यु भएको छ । दर्जनौं घर डुबानमा परेका छन् ।

शनिबार बिहान राप्ती नदीमा बगेर राजपुर गाउँपालिकाका एक युवक बेपत्ता भएका छन् भने खोलाले ट्याक्टर पल्टाउँदा गढवा गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । दूध बिक्रीका लागि लमही आएका राजपुर गाँउपालिका–२ का १८ वर्षका राजकुमार यादव राप्ती नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामबहादुर केसीले जानकारी दिए ।

त्यसैगरी गढवा गाँउपालिका–५ मा गङ्गदी खोलाले रा १ त २१६६ नम्बरको ट्याक्टर पल्टाउँदा एक जनाको मृत्यु भएको दुई जनाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिए । खोलाले ट्र्याक्टर पल्टाउँदा सोही ठाउँका ५५ वर्षका छेदीराम चौधरीको मृत्यु भएको हो भने ट्र्याक्टर चालक महेश यादव र अर्का एकजनाको उद्धार गरिएको उहाँले जानकारी दिए । अविरल वर्षाका कारण लमही नगरपालिका–७ हस्नापुर, राप्ती गाउँपालिका–५ लठ्हवाका दर्जनौं घर डुबानमा परेका छन् ।

बागलुङमा निरन्तर वर्षासँगै आएको पहिरोका कारण ६ परिवार विस्थापित भएका छन् । काठेखोला गाउँपालिका–६ को सुल्डाँडाबाट वडा नं ८ लेखानी जाने सडक चक्ल्याउने क्रममा लगाइएको पर्खाल पहिरोले बगाउँदा वरपरका तीन परिवार विस्थापित भएका हुन् । उक्त स्थानमा नौ घर पहिरोको जोखिममा परेका छन् ।

सुल्डाँडा–खानी खण्डका विभिन्न ठाउँमा पहिरो खसेको छ । पहिरोका कारण स्थानीय रघुनाथ कँडेल, कृष्ण कँडेल र लक्ष्मी विकको परिवार विस्थापित भएका वडाध्यक्ष बृहस्पति कँडेलले जानकारी दिए । अहिले विस्थापित भीमसेन क्याम्पसमा बसिरहेका छन् । पहिरोमा परेका पशु चौपायालाई पनि सुरक्षित स्थानमा सारिएको उनले बताए । उनका अनुसार सोही ठाउँको टापुका ११ घर पनि पहिरोको उच्च जोखिममा रहेका छन् ।

‘पहिरोले सिङ्गो बस्ती नै जोखिममा परेको छ, अहिलेसम्म विस्थापित भएका परिवारलाई भीमसेन क्याम्पससहित अन्य सुरक्षित स्थानमा सारेका छौं, अझै धेरै घर पहिरोको उच्च जोखिममा परेका छन्,’ वडाध्यक्ष कँडेलले भने, ‘मानवीय क्षति हुन नदिन तयारी अवस्थामा उद्धारका लागि खटिएका छौं ।’ यस क्षेत्रका एक दर्जन घर पहिरोको जोखिममा छन् । दुई सातादेखि निरन्तर पहिरो खस्दा भुँदीखोलाको पक्की पुल जोखिममा परेको उनले बताए ।

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बस्ती जोगाउन मेसिनको प्रयोग गरेर पहिरो हटाउन पहल गरिएको बताए । निरन्तर वर्षाका कारण पहिरो नरोकिएको भन्दै जोखिममा परेका बस्तीबाट स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेको उनले जानकारी दिए । विस्थापित परिवारलाई गाउँपालिकाले तत्काल बासको व्यवस्थापन गरेको छ ।

यसैगरी अविरल वर्षाका कारण पहिराले जिल्लामा प्रहरी चौकी पुरिएको छ । दुई दिनदेखि निरन्तर परेको वर्षाले चौकी माथिदेखि पहिरो खस्दा पञ्चकोट प्रहरी चौकीको भवन पुरिएको हो । पहिरोले बागलुङ–६ सर्वसिद्धिधाम पञ्चकोट जाने बाटोमा बनाइएको सिँढी र पर्खाल पनि भत्किएको छ ।

मानवीय क्षति नभए पनि चार कोठे भवनको तीन वटा कोठा पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । पञ्चकोट क्षेत्रको सुरक्षाका लागि मन्दिर व्यवस्थापनले चौकी निर्माण गरेको भन्दै उक्त भवन पहिराले भत्किएपछि अन्यत्र सार्ने तयारी भइरहेको छ । उक्त चौकीमा पाँच जना प्रहरी जवान बस्दै आएका थिए ।

तनहुँमा पृथ्वी राजमार्ग अन्तर्गत शुक्लागण्डकी–७ शेराटारमा रहेको अस्थायी कल्भर्ट बाढीले बगाएपछि सवारी आवतजावत पूर्ण रुपमा बन्द भएको छ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले कल्भर्ट बगाउँदा राजमार्ग भएर गुड्ने सयौं सवारीसाधान ठप्प भएका छन् । वर्षा भइरहेकाले राजमार्ग हुँदै यात्रा गर्ने सवारीचालक र सर्वसाधारणलाई सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।

अविरल वर्षासँगै तनहुँको म्याग्दे खोलामा आएको बाढीले जिल्लाको म्याग्दे गाउँपालिका–४ स्थित घुम्ती बजारका घर डुबानमा परेका छन् । शुक्रबारदेखि परेको वर्षाका कारण म्याग्दे खोलामा आएको बाढीले यहाँका घरहरु डुबानमा परेका हुन् ।

खोलामा आएको बाढीले यहाँका १४ घर डुबानमा परेका छन् । प्रत्येक वर्षको वर्षाका समयमा यहाँ बाढी र डुबानको समस्या हुन्छ, यसको समाधान हुन नसक्दा प्रत्येक वर्ष घर डुबानमा पर्नेतथा स्थानीय विस्थापित हुने गरेका छन् ।

नारायणी नदीको बाढी बस्तीमा पसेको छ। अविरल वर्षापछि आएको बाढी नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोट–२ को बस्तीमा पसेको हो।

बाढीका कारण गैँडाकोट–२ बोटेटोलका करिब एक सय घर डुबानमा परेका वडाध्यक्ष प्रकाश सापकोटाले जानकारी दिए। यहाँका करिब चार सयजना प्रभावित भएपछि सुरक्षित स्थानमा सारिएको सापकोटाले बताए।

‘यहाँ बर्सेनि बाढी पसेर क्षति पुर्‍याउने गरेको छ,’ उनले भने, ‘बाढीबाट प्रभावितहरू छिमेकीको घर तथा सामुदायिक भवनमा बस्नुभएको छ।’ बाढी प्रभावितलाई खानाका लागि सामूहिक व्यवस्थापनको तयारी भएको सापकोटाले बताए।

यसैबीच, नारायणी नदीले खतराको तह पार गरेको छ। नारायणी नदीको देवघाटस्थित जल मापन केन्द्रका अनुसार शनिबार साँझ ७ः३३ बजे नदीमा पानीको सतह १० दशमलव ४० मिटर पुगेको छ। नारायणी नदीको देवघाट मापन केन्द्रमा पानीको सतह नौ मिटर पुगेपछि खतरा मानिन्छ।

नारायणी नदीले खतराको तह पार गरेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.