आज मितिः २०८३ बैशाख ६ गते

बिहीबारसम्म वर्षाको सम्भावना, ३४ जिल्लामा रेड अलर्ट जारी

काठमाडौं-

 

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन सक्रिय हुँदै गएकाले भारी वर्षाबाट ३४ जिल्ला अति प्रभावित हुने जनाएको छ।

विभागले विशेष बुलेटिन जारी गर्दै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३४ जिल्लामा रेड अलर्ट जारी गरेको छ। यसैगरी २६ जिल्लामा मध्यम जोखिमको सम्भावनाको संकेत स्वरुप यलो अलर्ट जारी गरेको छ।

रेड अलर्टले अति जोखिम र यलो अलर्टले मध्यम जोखिमको संकेत गर्दछन्। अति जोखिम भनेर संकेत गरिएका जिल्लाहरुमा कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपु्र, खोटाङ, सोलुखुम्बु र ओखलढुंगा छन्।

यसैगरी बागमती प्रदेशका मकवानपुर, चितवन, सिन्धुपाल्चोक र दोलखा जिल्लामा रेड अलर्ट जारी भएको छ। गण्डकीका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व र लमजुङ जिल्लामा रेड अलर्ट जारी भएको छ।

लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुम पूर्व पनि अति जोखिमको संकेत स्वरुप रेड अलर्टको सूचीमा परेका छन्।

केही दिनदेखि मनसुन न्यून चापीय रेखाका कारण मनसुन सक्रिय हुन थालेको विभागको भनाइ छ। यसअघि विभागले असार १२ गतेदेखि १७ गतेसम्म सतर्कताको सूचना जारी गरेको थियो। सो न्यून चापिय रेखा आगामी केही दिन नेपालको दक्षिण भूभाग आसपास रहने र मनसुन थप सक्रिय हुने सम्भावना रहेको भन्दै विभागले फेरि असार १७ गतेदेखि २० गतेसम्म सतर्कताको सूचना जारी गरेको हो।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका २६ जिल्लामा मध्यम जोखिमको सम्भावना छ। मध्यम जोखिमको सूचीमा कोशीको उदयपुर तथा मधेशका सिरहा, सप्तरी, धनुषा, बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरी छन्।

बागमतीका रामेछाप र सिन्धुली तथा गण्डकीको मनाङलाई पनि जल तथा मौसम विज्ञान विभागले मध्यम जोखिमको सूचीमा राखेको छ।
लुम्बिनी प्रदेशका दाङ, बाँके र बर्दिया तथा कर्णाली प्रदेशका सल्यान, सुर्खेत र दैलेख पनि मध्यम जोखिममा छन्।
सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, अछाम, दार्चुला, बझाङ र बैतडी जिल्ला पनि मध्यम जोखिमको संकेत स्वरुप यलो अलर्टको सूचीमा परेका छन्।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असार १७ गतेदेखि २० गतेसम्म रेड र यलो अलर्ट जारी भएका जिल्लाहरुमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको छ। शहरी तथा तराई क्षेत्रहरुमा डुबानको जोखिम रहेको र ठूला तथा साना नदीनाला एवम् खोलाहरुमा पानीको सतह बढ्ने सम्भावना समेत रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली र यसका सहायक नदीहरु तथा बागमती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईको जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान छ। त्यसैले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.