चैत २४,शनिबार,
काठमाडौं-
काठमाडौं महानगरपालिकाले आफ्नो मातहतका विद्यालयलाई शैक्षिक सामाग्री किन्न बाध्य बनाए कारबाही गर्ने चेतावनी दिएको छ। कामपा शिक्षा विभागले सामुदायिक र संस्थागत दुवै विद्यालयलाई परिपत्र गर्दै उक्त चेतावनी दिएको हो।
आगामी शैक्षिक वर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यालयबाटै बिक्री गर्न र किन्न बाध्य बनाउने काम प्रचलित कानुनविपरीत रहेको शिक्षा विभागका निमित्त विभागीय प्रमुख सरस्वती पोखरेलले जारी गर्नुभएको परिपत्रमा उल्लेख छ।
पत्रमा भनिएको छ, ‘सामुदायिक विद्यालयले पाठ्यक्रम विकास केन्द्रले तयार पारेका पाठ्यपुस्तक मात्र प्रयोग गर्न पाउनेछन्, अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तक प्रयोग गर्नुपरेमा केन्द्रले अनुवाद गरेर प्रकाशन गरेका वा सूचीकृत भएका मात्र प्रयोग गर्नुपर्नेछ।’
महानगरले भनेबाहेकका पाठ्यपुस्तकका लागि महानगरपालिकाले भुक्तानी नगर्ने पनि स्पष्ट पारेको छ । त्यसैगरी संस्थागत विद्यालयले पाठ्यक्रम विकास केन्द्रले सूचीकृत गरेका पाठ्यसामग्री मात्र प्रयोग गर्न गराउनु उल्लेख गरिएको छ।
हाल कामपामा सामुदायिक र संस्थागत गरी करिब छ सय विद्यालय रहेका छन्।