काठमाडौँ-
कवि शान्ता भट्ट (देवकोटा) को कवितासङ्ग्रह ‘उन्मुक्त मन’ को लोकार्पण गरिएको छ । प्रकाशक प्राज्ञिक बुक्सद्वारा काठमाडौँको बागबजारमा आयोजित एक कार्यक्रमकाबीच सो कृतिको लोकार्पण गरिएको हो।
सङ्ग्रहलाई नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ डा.मधुसुदन गिरी, प्राज्ञ डा. कौशिला रिसाल, कार्यक्रमका सभाध्यक्ष बद्रिप्रसाद ढकाल, समीक्षकहरु उपप्राध्यापक राजिन पनेरु र उपप्राध्यापक अनुपमा रेग्मी लगायतले सो कृतिको सामुहिक लोकार्पण गर्नुभएको हो ।
कृतिको बारेमा समीक्षा गर्दै अनुपमा रेग्मीले कवि शान्ताको सिर्जन शक्ति राम्रो भएको भन्दै उज्जल भविष्यको कामना गर्नुभयो ।
समीक्षक राजिन पनेरुले आयामको दृष्टिबाट कृति उन्मुक्त रहेको बताउनु भयो । वादको आँखाले हेर्यो भने रचनाहरु नमिल्न सक्ने बताउँदै उहाँले उन्मुक्त र घोषित संरचनामा नबाँधिएको बताउनु भयो । भाषिक कसरमसर केही सुधार गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनु भयो ।
प्राज्ञ डा. कौशिला रिसालले कृतिकारलाई हौसला प्रदान गर्नुभयो । लेखन सुरु गर्दा सिद्धान्त र संरचनामा कसैले पनि ध्यान नदिने उल्लेख गर्दै सैद्धान्तिक कुरामा विस्तारै ध्यान दिँदै जानुपर्ने उहाँले बताउनु भयो ।
प्रमुख अतिथि प्राज्ञ डा. मधुसुदन गिरीले कृति लेखिसकेपछि लेखक मर्यो भन्ने चलन भए पनि आफू जन्मिएको भन्न रुचाउने बताउनु भयो । कवि भट्ट पनि जन्मिएको उहाँले बताउनु भयो । रचना गर्दै गएपछि शक्तिशाली र सवल बन्ने भन्दै उहाँले कृतिकार भट्टलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
कार्यक्रम समापन गर्दै प्रकाशक तथा सभाध्यक्ष बद्रिप्रसाद ढकालले कृतिमा समेटिएका रचनाहरु शीर्षक अनुसारकै उन्मुक्त रहेको उल्लेख गर्नुभयो । रचनाहरु पाठकसमक्ष प्रस्तुत गर्न पनि आँट चाहिने भन्दै कवि भट्टले त्यो आँट गरेको उहाँले बताउनु भयो ।
गोर्खाको बगुवामा जन्मिएकी कवि भट्ट (देवकोटा) ले आफू भर्खर जन्मिएको र पाठक, समीक्षक र शुभचिन्तकको साथ, सहयोग र हौसलाले विस्तारै हिड्न सक्ने बताउनु भयो । जीवन भोगाइका क्रममा प्राप्त विचार र भावनालाई रचनामा समेटेको पनि उहाँले बताउनु भयो ।
कृतिमा १७२ वटा मुक्तक र ४२ वटा कविता समेटिएका छन् ।