काठमाण्डौं-
पैसा अभावकै कारणले उपचार नपाएर कोही नेपालीले मर्नु नपर्ने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बताएका छन्।
नेपाल शिक्षक सङ्घ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको २२औँ जिल्ला प्रतिनिधिसभाको बलेफी गाउँपालिका– ५ मा उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।
उनले भने, “नागरिकको स्वास्थ्य सुरक्षाका लागि म र मेरो मन्त्रालय सधैँ अग्रसर छ, म दाबाका साथ भन्छु, पैसा नभएर उपचार रोकिदैन, पैसा नभएर उपचार नपाएका मेरो सम्पर्कमा आउनुहोला, म निःशुल्क उपचार गर्नेछु ।”
मन्त्री बस्नेतले आर्थिक अवस्था कमजोर भएकाका लागि सरकारी अस्पतालमा निःशुल्क उपचारको थालनी भएपछि बिरामीको चाप बढ्न थालेको बताए ।
उनले भने, “बाँच्न र पढ्न पाउने नागरिकका नैसर्गिक अधिकार हुन्, कक्षा १२ सम्मको पढाइ निःशुल्क गर्नुपर्छ भन्ने मेरो धारणा हो, यसका लागि म लागिरहेकै पनि छु ।” उनले शिक्षकले पनि आफ्ना माग पूरा गर्ने नाममा राजनैतिक दलका भातृसङ्गठन जस्तो आन्दोलन गर्न नहुने तथा सभ्य तरिकाले आफ्ना माग राख्नुपर्ने बताए।