काठमाण्डौं-
अरुको नागरिकतामा ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुले अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर कन्सल्टेन्सी सञ्चालन गरी वैदेशिक रोजगारीमा पठाउने बहानामा रकम ठगी गरेका हुन्।
हरिवन नगरपालिका घर भई ललितपुर बस्दै आएका सरोज यादव, सर्लाहीका रामेश्वर सिंह र धनुषाका रामसेवक सिंह पक्राउ परेका हुन् । उनीहरुले ५५ जनालाई वैदेशिक रोजगारीका लागि युरोप पठाइदिने भन्दै प्रतिव्यक्ति रु सात लाखका दरले रकम असुल्दै आएका पाइएको छ। मासिक रु एक लाख ५५ हजार तलब पाइने भन्दै तीनैजनाले पीडितबाट रु ६३ लाख ठगी गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।
रकम लिएपछि सम्पर्कविहीन भएको भनी परेको जाहेरीका आधारमा खोजतलास गर्ने क्रममा तीनैजनालाई माघ २३ गते साँझ ललितपुरबाट पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो। अनुसन्धानका क्रममा रामेश्वर सिंह बजाज ओभरसिसमा २०७४ सालदेखि कर्मचारीको रुपमा एक वर्ष काम गरी वैदेशिक रोजगारीसम्बन्धी काम सिकेर भेरी ओभरसिज किनेर सञ्चालन गरेकामा दुई सय जनाबाट रु तीन करोड ठगी गरेर एक वर्ष ६ महिना जेल सजाय भोगेको पाइएको छ।
भेरी ओभरसिजमा विदेश जान पेस गरेकामा सरोज यादव, नागेन्द्र यादव र गुरुदेव यादवको नागरिकताको प्रमाणप्रत्रमा आफ्नो ज्वाइँ नातापर्ने रामसेवक सिंहको फोटो टाँसी विराट कन्सलटेन्सी विर्तामोड, गडीमाई कन्सलटेन्सी काठमाडौँ र कमलामाई कन्सलटेन्सी दर्ता गरी ४८ जनाबाट रोमानिया, जर्मनी, अफगानिस्तान र क्रोएसिया पठाउने भनी प्रतिव्यक्ति रु सात लाखसम्म रकम उठाएको पाइएको प्रहरीले जनाएको छ।