काठमाडौं-
मेलम्चीको पानी काठमाडौं उपत्यकावासीले माघ १ गतेदेखि धारामा पाउने भएका छन्। मेलम्चीको मुहान क्षेत्र मर्मत गरी माघ १ गतेदेखि पुनः उपत्यकावासीका धारामा पानी पुर्याउन थालिएको हो।
मेलम्चीको पानी पुनर्वितरणको प्रधानमन्त्री प्रचण्डले शुभारम्भ गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीले पानी पुनर्वितरणको शुभारम्भ गरेपछि घरघरका धारामा मेलम्ची पानी पुग्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।
पहिलो दिन अनामनगर र मीनभवन केन्द्रबाट पानी वितरण सुरु हुने छ। त्यसपछि क्रमशः खुमलटार, महाँकाल चौर, कीर्तिपुर, बोडे, कटुन्जे, बालाजु, बाँसबारी केन्द्रबाट पनि पानी वितरण सुरु गरिने आयोजनाले जनाएको छ।
बाढीले मेलम्ची खानेपानीको मुहान र पहुँच मार्गमा क्षति पुगेपछि मेलम्ची खानेपानीको आपूर्ति रोकिएको थियो। आयोजना निर्माण सुरु भएको २२ वर्षपछि अर्थात् २०७७ साल फागुन २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रोमेकानिकल गेटको बटन थिचेर मेलम्चीको सुन्दरीजलमा मेलम्चीको पानी प्रवाहको उदघाटन गरेका थिए।
त्यसको एक महिनापछि चैत २० गते पहिलोपटक मेलम्चीको पानी काठमाडौंमा झारिएको थियो। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा निर्माण गरिएको धारा खोलेर मेलम्चीको पानी वितरण शुभारम्भ गरेकी थिइन्।