काठमाण्डौ –
बङ्गालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’ को प्रभावले नेपालमा शुक्रवार र शनिवार अत्यधिक वर्षा र हिमपातको सम्भावना रहेको छ ।
मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर शुक्रवार र शनिवार देशका विभिन्न भू–भागमा अत्यधिक वर्षा र व्यापक हिमपातको सम्भावना रहेको जनाएको छ ।
‘अर्नब’ नाम दिइएको यो चक्रवात थप शक्तिशाली बन्दै पर्सि बुधवार भारतको आन्ध्र प्रदेश र विशाखापट्टनमको बीचमा पर्ने यानम नजिकको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्ने अनुमान छ ।
महाशाखाका अनुसार यसै चक्रवातको प्रभाव र अन्य साना वर्षा प्रणालीहरूको संयुक्त असरले बुधवार रातिदेखि नै नेपालमा मौसम बदली भई सामान्यदेखि मध्यम वर्षा शुरू हुनेछ । बिहीवारदेखि शनिवारसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना रहेको छ ।
विशेषगरी शुक्रवार र शनिवार कोशी, बागमती, मधेश र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे वर्षा हुन सक्ने महाशाखाले चेतावनी दिएको छ । यसैगरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा ठूलो हिमपात, हिमआँधी र हिमपहिरोको समेत अत्यधिक जोखिम रहेको छ ।
सम्भावित विपद् र क्षतिलाई मध्यनजर गर्दै महाशाखाले किसान, पर्यटक तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।