काठमाण्डौ –
आज भदौ २३ गते नवयुवा आन्दोलनको एक वर्ष पूरा भएकोले सरकारले सार्वजनिक बिदा दिएको छ।
आन्दोलनअघि तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो । सामाजिक सञ्जालका प्लेटफर्ममाथि प्रतिबन्ध लगाएपछि युवामा असन्तुष्टि बढ्यो । डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल केबल मनोरञ्जनको माध्यम थिएनस सूचना, अभिव्यक्ति, शिक्षा, व्यवसाय, रोजगारी र सामाजिक सम्बन्धको महत्त्वपूर्ण आधारसमेत बनिसकेको थियो ।
त्यसैले प्रतिबन्धलाई युवाले आफ्नो अभिव्यक्ति र डिजिटल अधिकारमाथिको हस्तक्षेपका रूपमा लिए । सामाजिक सञ्जालमै शुरु भएको विरोध केही दिनमै सडकमा पोखिएको थियो । भदौ २३ र २४ गते दुई दिन भएको आन्दोलनमा काठमाण्डौलगायत देशका विभिन्न ठाउँमा युवाहरुले प्रदर्शन गरेका थिए ।
भ्रष्टाचार नियन्त्रण, राजनीतिक जवाफदेहिता, सार्वजनिक संस्थामा सुधार, रोजगारी सिर्जना, अवसरमा समानता, पारदर्शिता र राज्य सञ्चालनमा नयाँ पुस्ताको सहभागिता आन्दोलनका प्रमुख विषय बने । सुशासन मुख्य एजेण्डा थियो ।
ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । आज सार्वजनिक बिदा भए पनि नेपाल राष्ट्र बैंकले आफ्ना र मातहतका अत्यावश्यक बैंकिङ सेवा भने खुला राख्ने भएको छ ।
प्राकृतिक विपद्पछिको अवस्था र राहत कार्यलाई ध्यानमा राख्दै बैंकिङ काउन्टर तथा अत्यावश्यक सेवा बन्द नगरी नियमितरुपमा सञ्चालन गर्न राष्ट्र बैंकको बैंक तथा वित्तिय संस्था नियमन विभागले निर्देशन दिएको हो ।
आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाएका थिए ।