काठमाण्डौं-
अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेल आज सोमबार हुँदै छ । अन्तिम क्वार्टरफाइनलमा नेपाल पुलिस क्लब र झापा ११ बिच खेल हुनेछ।
आयोजकका अनुसार नेपाल पुलिस र झापाको खेल दिउँसो ३ बजे सुरु हुने छ । खेलमा विजयी हुने टोली सेमिफाइनलमा पुग्ने छ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने आयोजक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो ।
अध्यक्ष मादेनका अनुसार अन्तिम क्वार्टरफाइनलमा विजयी हुने टोलीले बुधबार पाँचथरको फिदिम स्पोर्टिङ क्लबसँग प्रतियोगिताको सेमिफाइनल खेल खेल्नुपर्ने छ । यस्तै मङ्गलबार हुने पहिलो सेमिफाइनल खेल सिराहाको सलहेस युथ क्लब र पाहुना टोली भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिङ्पोङबिच हुने छ ।
प्रतियोगिताको फाइनल खेल भदौ १९ गते हुने छ । यसवर्ष प्रतियोगिताको विजेताले सात लाख दुई हजार ८३ रुपियाँ र उपविजेताले तीन लाख ५२ हजार ८३ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने छ ।
वि।सं २०२९ सालदेखि लाखेजात्राको अवसरमा विभिन्न नामबाट खेलाइँदै आएको ऐतिहासिक फुटबल प्रतियोतिगा पछिल्लो चार वर्षयता ताप्लेजुङ गोल्डकपको नामबाट आयोजना गरिँदै आएको छ ।