काठमाडौँ –
जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबारका लागि दिइएको बिदा खारेज गर्दै सबै सरकारी कार्यालय, संस्थान र स्थानीय तहहरू सञ्चालन गर्न निर्देशन दिएको छ ।
विगत दुई दिनदेखिको लगातारको वर्षाका कारण काठमाडौँ प्रवेश मार्गहरू अवरुद्ध भई उद्धार तथा राहतमा ध्यान केन्द्रित गर्न असोज १९ र २० गते दुई दिन सार्वजनिक बिदा घोषणा गरिएको थियो। तर, मौसममा सुधार आएपछि प्रशासनले आज कार्यालय खुला हुने जनाएको छ।
प्रशासनले आइतबार राति जारी गरेको सूचनामा भनिएको छ, ‘मौसममा सुधार भएको र जोखिमको अवस्था टरीसकेको हुँदा मिति २०८२र०६र २० गते सोमबारका दिन बिहान १० बजे देखि कार्यालय समयसम्म काठमाडौँ जिल्लाका सबै प्रकारका सरकारी कार्यालयहरू, संस्थानहरू र स्थानीय तहहरूबाट सेवा प्रवाह हुने गरी कार्यालय खुला राख्न तथा तदनुरूप कर्मचारीहरूको उपस्थितिको व्यवस्था मिलाउन अनुरोध छ।’
यसअघि सरकारले २० गतेसम्म बिदा दिने निर्णय गरेको थियो । गृह मन्त्रालयले विपद् जोखिम र प्रतिकार्य कार्यमा प्रत्यक्ष रूपमा संलग्न नरहेका जिल्लाहरुलाई सार्वजनिक सेवा नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएसँगै यो नयाँ निर्णय भएको हो ।