चितवन-
सिमलताल दुर्घटनामा परी बेपत्ता भएका ६२ जना यात्रुमध्ये हिजोसम्म १८ जनाको शव फेला परेको छ । तीन पुरुष र एक महिलाको शव हिजोमात्र फेला परेको हो ।
मंगलबार नवलपरासीको मध्यविन्दु–२ भुताहामा एक, गैंडाकोट नगरपालिका–१० मा दुई वटा र विनयी त्रिवेणी गाउँपालिका–७ गण्डक व्यारेजको पुलमा एउटा शव भेटिएको हो ।
हालसम्म १८ जना यात्रुको शव फेला परिसकेको छ । घटनास्थलबाट करिब १०३ किमी तल गण्डक व्यारेजसम्म पनि यात्रुका शव भेटिएका छन् । फेला परेका १८ शवमध्ये नौ वटा शवको मात्रै सनाखत भएको छ । सनाखत भएको शव तीन भारतीय र छ नेपाली यात्रुको भएको खुलेको छ ।
गत असार २८ गते नारायणगढ–मुग्लिन सडकको सिमलतालमा खसेको पहिरोले काठमाडौँबाट गौर जाँदै गरेको बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बसलाई सोहोरेर त्रिशूली नदीमा खसालेको थियो । त्यस यता दुई वटै बस बेपत्ता छन् ।