नवलपरासी —
नवलपरासी पूर्वमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको १६ करोड ५८ लाख रुपैयाँभन्दा बढी बचत रकम हिनामिना भएको छ । हिनामिना गरेको अभियोगमा ३५ जनालाई विपक्षी बनाएर शुक्रबार सरकारी वकिलको कार्यालय नवलपरासी पूर्वले जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय नवलपरासी पूर्वका जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरेले सहकारीको रकम हिनामिना गरेकी राप्रपा सांसद गीता बस्नेत, उनका ज्वाइँ नगेन्द्रबहादुर रिमाल, हालका व्यवस्थापक योगेन्द्र पाण्डे, सञ्चालक समितिका हालका अध्यक्ष गोपी शर्मासहित ३५ जनालाई विपक्षी बनाएर मुद्दा दायर गर्ने जानकारी दिए ।
रकम हिनामिनामा संलग्न भएका ३५ जनामध्ये १० जना प्रहरी हिरासतमा रहेका छन् भने सांसद गीता बस्नेतसहित अन्य २५ जना फरार रहेका छन् । छिपछिपे सहकारीको १ करोड रुपैयाँ बर्दिया सदरमुकाममा रहेको कृष्णसार रिसोर्टमा लगिएको छ । त्यो रिसोर्टकी मुख्य सञ्चालक सांसद बस्नेत छिन् । २५ दिनअघि जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले पक्राउ पुर्जी जारी गरेपछि सांसद बस्नेत फरार रहेकी छन् ।