काठमाडौं-
तेस्रो लगानी सम्मेलन आजदेखि सुरु हुँदैछ। बिहान सम्मेलनको उद्घाटन हुने लगानी बोर्डले जनाएको छ। सम्मेलनमा स्वदेश तथा विदेशबाट गरेर एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको छ। लगानी बोर्डको कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सम्मेलनका लागि दुई हजार चार सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो। विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनका लागि आउँदैछन्। सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागिता सुनिश्चित भइसकेको छ।
त्यसैगरी, चीनका दुई सय ६५, भारतका एक सय ४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स ९युएई० का १३ र जर्मनीका १० जना सहभागी हुँदैछन्। दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ नौ जना सम्मेलनमा सहभागी हुन लागेका लगानी बोर्डले जनाएको छ। पाकिस्तानबाट आठ, सिङ्गापुरबाट ६, कतार र घानाबाट पाँचरपाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट चाररचार जनाको सहभागिता रहने जनाइएको छ।
सम्मेलनमा कुल १० सत्र सन्चालन हुने छन् र ५० जनाभन्दा बढी वक्ता रहने छन्। पहिलो दिन २ वटा र दोस्रो दिन ८ वटा सत्र सन्चालन गरिने छ। पहिलो दिनको पहिलो सत्रमा १५ जना वक्ताले बोल्ने कार्यक्रम रहेको छ। पहिलो सत्रमा नेपालमा लगानीको सम्भाव्यता र दोस्रो सत्रमा मुनाफा आर्जन गरेका कम्पनीको अनुभव आदानप्रदान हुने बोर्डले जनाएको छ।
बोर्डले लगानीका लागि १ सय ४८ परियोजनाको सूची तयार पारेको छ, जसमा बोर्डका २०, निजी क्षेत्रका ३२, स्थानीय तहका ४ र अन्य निकायका ९६ परियोजना समावेश छन्।