आज मितिः २०८३ बैशाख ९ गते

वर्षाले दुबईका वित्तीय केन्द्र र विशाल राजमार्गहरू अवरुद्ध

दुबई-

कीर्तिमानी वर्षाले प्रभावित हुँदा वित्तीय केन्द्र दुबईका विशाल राजमार्गहरू बाढीले अवरुद्ध भएका छन् भने विमानस्थलका यात्रीहरूलाई बुधबार टाढा रहन आग्रह गरिएको छ।

संयुक्त अरब इमिरेट्सको मरुभूमिमा मङ्गलबार करिब दुई वर्षको बराबर दुई सय ५४ मिलिमिटरसम्म वर्षा भएपछि छ लेन भएको एक्सप्रेसवेमा जाममा फसेका गाडीहरूको विशाल लाइन देखिएको थियो।

प्रहरीका अनुसार मुलुकका सात इमिरेटमध्येको एक रास अल–खैमामा बाढीमा बगेर कारमा सवार ७० वर्षीय व्यक्तिको मृत्यु भएको छ। एक अधिकारीले यात्रीहरूलाई ‘अत्यावश्यक’ नभएसम्म अन्तर्राष्ट्रिय यातायातको दृष्टिले विश्वको सबैभन्दा व्यस्त दुबई विमानस्थलमा नआउन चेतावनी दिएका छन्।

दुबई विमानस्थलका प्रवक्ताले भने, ‘उडानहरूमा ढिलाइ र मार्ग परिवर्तन जारी छ, हामी अत्यन्त चुनौतीपूर्ण अवस्थामा सकेसम्म चाँडो उडानहरू सञ्चालन गर्न अथक प्रयास गरिरहेका छौँ।’

पहुँच मार्गहरू पानीले भरिएको र केही मेट्रो सेवा निलम्बन भएपछि कर्मचारी र यात्रीहरूले आउन र जान सङ्घर्ष गर्नुपरेका कारण दुबईको प्रमुख इमिरेट्स एयरलाइनले बुधबारको सबै ‘चेक–इन’ रद्द गरेको छ।

विमानस्थलमा ट्याक्सीहरूको लामो लाइन लागेको छ र ढिलाइले यात्रीहरू यताउता गरिरहेका छन्। मङ्गलबारको मुसलधारे वर्षाले धेरै उडान ढिलाइ, रद्द वा डाइभर्ट भएका छन्।

ओमानमा वितण्डा मच्चाएपछि सोमबार र मङ्गलबार संयुक्त अरब इमिरेट्स र बहराइनमा आँधी आएको थियो। ओमानमा बालबालिकासहित १८ जनाको मृत्यु भएको छ। चरम मौसमी घटनाहरूमा जलवायु परिवर्तनको भूमिकाको आकलन गर्ने विशेषज्ञ क्लाइमेटोलोजिस्ट फ्रेडरिक ओट्टोले विश्वव्यापी तापक्रमले आँधीलाई अझ खराब बनाएको हुनसक्ने अत्यन्त सम्भावना रहेको बताए।

आधिकारिक सञ्चारमाध्यमका अनुसार सन् १९७१ मा संयुक्त अरब इमिरेट्सको स्थापनाअघि सन् १९४९ मा रेकर्ड वर्षा सुरु गरिएयता यो सबैभन्दा ठूलो वर्षा थियो। (एएफपी)

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.