चैत ९, शुक्रबार,
भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन्।
मदिरा घोटाला प्रकरणमा करिब २ घण्टाको सोधपुछपछि ईडीले मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरेको हो।
दिल्ली सरकारका स्वास्थ्य, पर्यटन तथा सहरी विकासमन्त्रीसमेत रहेका आम आदमी पार्टीका नेता सौरभ भारद्वाजले सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरिएको पुष्टि गरेका छन्। साथै पक्राउविरुद्ध पार्टी सर्वोच्च अदालत पुगेको पनि उनले बताएका छन्।
हालै झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई पक्राउ गरिएको थियो। दिल्लीमा यसअघि शिक्षामन्त्रीसमेत रहेका उपमुख्यमन्त्री मनीष सिसोदिया र स्वास्थ्यमन्त्री सत्येन्द्र जैनलाई पनि भ्रष्टाचार आरोपमा पक्राउ गरिएको थियो। दिल्लीमा कथित शराब मामिलामा करिब १०० करोड भारतीय रुपैयाँबराबरको भ्रष्टाचार भएको आरोप लगाइएको छ।