चितवन-
नारायणगढ–मुग्लिन सडक खण्ड भोलि आइतवारदेखि २४ सै घण्टा सडक आवागमन खुला हुने भएको छ ।
तुईन खोलामा पुल निर्माणका लागि कडा चट्टानी पहाड फुटाउने कार्य अन्तिम चरणमा पुगेकोले भोलिदेखि खुल्ला हुने आयोजना पश्चिम खण्डले जानकारी दिएको हो ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड नारायणगढ–मुग्लिनका प्रमुख केदार नेपालका अनुसार पुस ७ गतेदेखि क्रमशः २१ दिनका दरले तेस्रो पटक सडक बन्द गरेर काम गरिएको हो । कूल ६३ दिनमा माघेसङ्क्रान्तिमा दुई दिन र अर्को एक दिन गरी तीन दिनबाहेक ६० दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर काम गरिएको थियो ।
काट्न बाँकी दुई मिटर पहाड सडक नरोकेरै भत्काउन मिल्ने उनको भनाइ छ । पुलको जगको काम अघि बढाउन मिल्ने भएकाले समय अनुकूल मिलाएर बाँकी ढिस्को भत्काइने उनले जानकारी दिए ।
त्यहाँको ढिस्को ६० मिटर हाराहारी अग्लो थियो । गत साल २५ मिटर तल झारिएको थियो । बाँकी ३५ मिटर यो वर्ष भत्काउन सुरु गरिएको हो । गत साल कडा चट्टान आएपछि विस्फोट गर्ने भन्दै काम रोकिएको थियो । विस्फोट गर्दा पुलसमेत भत्कनसक्ने भएकाले पुनःएक पटक भत्काउने प्रयास गरिएको हो ।
सो सडकका १९ वटा पुलमध्ये चार वटा पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । विसं २०७६ चैत १० गतेदेखि पुलको निर्माण थालिएको हो । पुलको लागत रु एक अर्ब २८ करोड छ ।