काठमाण्डौ-
बलिङमा पुनरागमन गर्दै नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा ओमानलाई १० रनले हराउँदै लिग–२ मा छैटौं स्थान पक्का गरेको छ ।
अल अमिरातमा हिजो भएको खेलमा नेपालले ओमानलाई १० रनले हरायो । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले ५० ओभरमा ६ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो ।
ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक ८९ तथा हम्माद मिर्जाले ८७ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले देव खनाल, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतक मद्दतमा निर्धारित ५० ओभरमा अलआउट हुँदै २८० रन बनाएको थियो ।
रोहितले ८०, दीपेन्द्रले ६९ तथा देवले ५७ रन बनाए । लिग–२ को अंकतालिकामा शीर्ष–६ मा अटाउनका लागि नेपाललाई यो खेल जित्नैपर्ने दबाब थियो । ओमानमा भएको श्रृंखलामा शुरुआती दुई खेलमा क्यानडा र ओमानलाई पराजित गरेको नेपाल त्यसपछि शनिबार क्यानडासँग २४ रनले पराजित भएको थियो ।