आज मितिः २०८२ चैत्र १ गते

कालीगण्डकीमा पहिलोपटक लघु सङ्ग्रहालय स्थापना – श्री भगवती माविमा भव्य कार्यक्रम सम्पन्न

स्याङ्जा, – कालीगण्डकी गाउँपालिका–७, मिर्मी ढावस्थित श्री भगवती माध्यमिक विद्यालयले असार ३ गते एक ऐतिहासिक कार्यको थालनी गर्दै कालीगण्डकीमै पहिलोपटक लघु सङ्ग्रहालयको उद्घाटन तथा पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न गरेको छ।

सामाजिक, सांस्कृतिक र शैक्षिक दृष्टिले महत्वपूर्ण मानिएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री राम प्रसाद पाण्डे र सहायक प्रधानाध्यापक श्री हेम बहादुर थापाले स्वागत मन्तव्य राख्दै विद्यालयको निरन्तर प्रयास, स्थानीय सहभागिता र सम्पदाको संरक्षणमा गरिएको योगदानबारे प्रकाश पार्नुभयो।

कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष श्री लोक हरी पाण्डे र व्यवस्थापन समितिका सदस्य श्री ज्ञान प्रसाद भट्टराईले विद्यालयको गतिशीलता र भविष्यप्रति आशावादी दृष्टिकोण प्रस्तुत गर्दै यस अभियानले भावी पुस्तामा गर्व, ज्ञान र जिम्मेवारीको भावना जागृत गराउने बताउनुभयो।

कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री शालिकराम न्यौपानेले गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि कालीगण्डकी गाउँपालिका अध्यक्ष श्री खिम बहादुर थापाले विद्यालयले थालेको यो अभियानप्रति उच्च प्रशंसा व्यक्त गर्दै, “स्थानीय स्तरमै यस्तो पहल गर्नु शिक्षा मात्र होइन, संस्कृति र सम्पदाको संरक्षणमा पनि एक महत्वपूर्ण योगदान हो,” भन्नुभयो। उहाँले आगामी दिनहरूमा पनि विद्यालयको यस्ता रचनात्मक गतिविधिमा पालिकाको तर्फबाट आवश्यक सहयोग निरन्तर रहने समेत व्यक्त गर्नुभयो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सावित्रा कोइराला, शिक्षा शाखा प्रमुख तथा वडा नं. ०७ का अध्यक्ष ज्यूले पनि आ–आफ्नो मन्तव्य राख्दै विद्यालयको यो पहलकदमीको खुलेर प्रशंसा गर्नुभयो। उहाँहरूले लघु सङ्ग्रहालयको स्थापनाले स्थानीय सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुका साथै विद्यालयको निरन्तर प्रगति र समावेशी शिक्षातर्फको प्रयासलाई सकारात्मक मूल्याङ्कन गर्नुभयो।

कार्यक्रमको विशेष आकर्षणका रूपमा शैक्षिक, अतिरिक्त र सह–पाठ्यक्रम गतिविधिमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरियो, जसले विद्यार्थीहरूमा अझ राम्रो गर्ने प्रेरणा थपेको थियो।

कार्यक्रम सञ्चालन श्री हेमन्त पराजुलीले आकर्षक र भावनात्मक शैलीमा गर्नुभएको थियो, जसले सम्पूर्ण कार्यक्रममा ऊर्जा थपेको सहभागीहरूले बताएका छन्।

विद्यालय परिवारले सम्पूर्ण अतिथि, अभिभावक, स्थानीय बासिन्दा तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहयोग पुर्‍याउनु भएकोमा हार्दिक आभार प्रकट गरेको छ।

लघु सङ्ग्रहालयको स्थापना केवल सामग्रीको संकलन नभई इतिहास, संस्कार र पहिचानको पुनर्जागरणको सुरुवात हो – यही विश्वासका साथ विद्यालय अगाडि बढिरहेको छ।

By कुशल भट्टराई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.