चितवन। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन किताब बेच्दै चितवन पुगेका छन्। मंगलबार बिहान आफ्नो किताब बेच्न उनी ग्रीनल्याण्ड पब्लिक स्कुल भरतपुर चितवन पुगेका थिए। कार्यक्रममा बोल्दै उनले आफ्नो किताब एक लाखबढी बिक्री भइसकेको बताए।कार्यक्रममा भरतपुर बडा न. १२ का अध्यक्ष लेखराज पन्त `हरि´, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार कार्की, बिद्यालयकी प्रधानाध्यापक इन्दिरा कार्कीले मन्तब्य राख्नु भएको थियो।
राष्ट्रिय आविष्कार केन्द्रले महावीर पुनको जीवनीमा आधारित ‘महावीर पुन– सम्झना, सपना र अविरल यात्रा’ नाममा पुस्तक बिक्री गरे बापतको रकमले कृषि औजार कारखाना चलाउने तयारी गरेको छ । उक्त पुस्तक बिक्री गर्न पुन देशका विभिन्न जिल्लाहरूमा गइरहेका छन् । त्यसबाहेक उनको पुस्तक विदेशमा पनि बिक्री भइरहेको छ । उनले प्रति किताब ७ सय रुपैयाँमा बिक्री गरिरहेका छन्। उनलाई हामी हरेक नेपालीको सहयोगको खाँचो छ ।
‘यो देशका एक तिहाइ नागरिक झन्डै तीन लाख जतिले मेरो किताब किनेमा मात्रै करिब १८ करोड जति संकलन हुनेछ,’ पुनले भने, ‘त्यो रकमले वीरगञ्जमा कृषि औजारको कारखाना स्थापना गर्ने उद्देश्य पुरा हुनेछ।’ आफू यसको अभियन्ता भएको र किताब किन्ने हरेक व्यक्ति कृषि कारखाना स्थापनाका हिस्सेदार हुने उनले बताए।
‘सारा युवा विदेश पलायन भइरहँदा निराश युवाहरूमा आफ्नो सोचाइ परिवर्तन गराउनु र उनीहरूमा प्रेरणा थप्नु यतिखेर अति आवश्यक छ,’ उनले भने, ‘जीवनका गोरेटोमा आउने मोडहरूमा मैले के-के गरे, कसरी अमेरिका पढ्न गए र कसरी अगाडि बढे भन्ने कुराहरू यो किताबमा छ।’
कृषि औजार स्थापना हुन सके त्यसमा झन्डै ६ सय जतिले रोजगारी पाउने उनले बताए। हाल सम्पूर्ण कृषि औजारहरू छिमेकी देश भारत र चीनबाट भित्रिने गरेको उनले बताए। नेपालमै कृषि औजार कारखाना स्थापना भएमा त्यसले कम्तिमा ६/७ प्रतिशत मात्रै आयात रोक्न सकेपनि त्यो मुलुकका लागि ठूलो उपलब्धि हुनसक्ने उनले औंल्याए।
पुन वैज्ञानिक तथा सामाजिक अभियान्ताका रूपमा परिचित छन् । अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर गरेका पुनको देशलाई विकासको गतितिर अग्रसर गराउनेमा विशेष योगदान छ । वायरलेस प्रविधिद्वारा देशका ग्रामीण क्षेत्रमा सूचना प्रवाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजनामार्फत इन्टरनेट सञ्जाल विस्तार गर्न सफल महावीर त्रिभुवन विश्वविद्यालयभित्र रहेको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पनि हुन् ।
पुनले सन् २०१२ मा सूचना तथा प्रविधि मार्फत देश विकासका सम्भावनाहरूको खोज र आविष्कार गर्ने उद्देश्यले मुनाफारहित संस्था राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरेका थिए। यस्तो विशाल योजनालाई मुर्तरुप दिन ठुलो आर्थिक सहयोगको खाँचो हुनेभएकाले पुनले नेपाल सरकारको ढोका बारम्बार ढक्ढकाएका थिए। सन २००१ महावीर पुनको जीबनको स्वार्णिम वर्ष रहन गयो जब ब्रिटिस ब्रोडकास्ट कर्पोरेसन बीबीसीले उनको गाउँगाउँमा इन्टरनेटको पहुँच पुर्याउने महत्त्वाकाङ्क्षी योजनालाई विश्वसमुदायमाझ पेस गरिदिएको थियो। बीबीसीको यस समर्थनबाट युरोप र अमेरिकाबाट विभिन्न सहयोगी दाताहरूले पुनलाई आर्थिक सहयोग गरेका थिए। त्यस सहयोगबाट उनले नाङ्गी र राम्चे आसपासका गाउँहरूमा ताररहित इन्टरनेट सञ्चालन गर्न सफल भएका थिए।
पुन ‘इन्टरनेट हल अफ फेम’, ’समग्र सामाजिक नवीनता पुरस्कार’, जोनाथन बी पोष्टल अवार्ड, एसियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन म्यागसेसे पुरस्कार’ जस्ता विभिन्न सम्मानद्वारा सम्मानित भइसकेका छन्।