लंकूखोले-
दुखेसो र आक्रोश कुन जनता माथि पोख्नुहुन्छ कमरेडहरु? जसले जनयूद्धलाई साँच्चिकै सर्वहारा वर्गको उत्थानको लागि गरिएको मानेर १० वर्षसम्म जोगाईदिए तिनलाई ? वा जसले भोकै नांगै बसेर परिवारका सदस्य गुमाएर पनि तपाईं र माओवादी पार्टीलाई साथ दिए तिनलाई ?
के बुझ्नुभएको छ राजनिति कसरी बुझ्नुभएको छ राजनिति ? के सिमित व्यक्तिहरुको हालिमुहाली र रज्जगज्जका लागि गरिएको थियो जनयूद्ध?
किन मारिएको थियो १७००० जनता ? केही थान नेताको जीवन स्तर उकास्नलाई हो ? गणतन्त्र ल्याएको हामी हो भनेर धाक लगाउनुहुन्छ ? के साँच्चिकै योद्धाहरु जो गणतन्त्र ल्याउन लडेका थिए तिनिहरुको सम्मान भएको छ ? के घाईते अपांगहरुको परिवार र तिनलाई उचित व्यवस्थापन भएको छ ?
शहीदको सपना साकार भएको छ कि छैन ? ‘२ र ४ थान नेता तिनका आसेपासे नातेदार र गुलाई पनि कुराउनी देख्नी कार्यकर्ताको सपना साकार पार्नु मात्र लागि गरिएको थियो जनयूद्ध? अनि हिजो देखि संकटकालीन अवस्थाबाट खुल्ला राजनितिमा आउन सहयोग गर्ने तमाम जनताहरु भुलेर २०६४ पछि मिसिएकाहरुलाई गाडि घोड़ा, आलिसान बंगला विदेश भ्रमण र तिनैलाई नेतृत्व सुम्पन गरिएको थियो जनयूद्ध?
अनि गणतन्त्र ल्यायौं व्यवस्था बदल्यौं भनेर मात्र हुन्छ ? गणतन्त्र ल्याएको किन कसका लागि ल्याईयो त्यतातिर ध्यान पुगेको छ ? आफ्नो गास काटेर तपाईंहरुलाई जसले खुवाए के तिनिहरुको लागि आएको छ गणतन्त्र? पटक पटक सत्तासीन हुँदै गर्दा कहिल्यै आफुलाई भूमिगत कालमा बँचाउनेहरुको आगनमा चुनावको बेला बाहेक टेक्नु भएको छ ? छैन नि हैन ? अनि किन दिने भोट तपाईंहरुलाई ? तर पनि दिए ।
जसको कारण भूमिगत राजनिति सुरुवात गरियो उसैसंग घाँटी जोडेर जनतालाई घात माथि घात गर्दै जाने अनि जनताले सधैं भोट दिएर बस्नुपर्ने ? कहिलेसम्म ? जनताको पनि पुस्ता फेरियो तपाईंसंगका र तिनका छोरा छोरी अब सचेत भैसके । सचेत हुनु जनताको गल्ति होईन । नसुध्रिनु तपाईंहरुको गल्ती हो ।
एउटा राजाको शासनलाई सामन्ती भनेर ढाल्दै गर्दा कति छोटे राजा र सामन्तिहरुको उदय भयो थाहा छ ? सामन्ति राजसंस्था र राजाहरुको शासनको भन्दा के चाहिं राम्रो काम भएको छ तपाईंहरुको गणतन्त्रमा ? देशका खोला नदी बेच्ने सिमानाका गाउँ बस्ती भारतले गाभ्दा टुलुटुलु हेरेर बस्ने,नागरिकताको नाममा भारतीय र विदेशीको हस्तक्षेप बढाउने काम गरिरहनेहरुसंग सहमति जनाउने काम पनि काम हो र ? नवराजाहरुको काम आँखै चिम्लेर अनदेखा गर्ने हो र ? हैन नि सचेत जनताले परिवर्तन चाहन्छ नै ।
यहाँ मैले राजा भनेर ज्ञानेन्द्रलाई नभई पूर्ण रुपमा राजाशैलीको कुरा गर्न खोजेको छु । प्रशस्त उदाहरणहरु देशैभरी देख्न पाईन्छ ।माओवादी जनयूद्ध पछि अझ भनौं शान्ति सम्झौता पछि र विशेषतःमाओवादी सरकारमा गईसकेपछि जुन व्यवहार सच्चा कम्युनिस्ट माथि भयो यो सरासर ग़लत छ ।पार्टी एकताका नाममा विभिन्न रुपधारी व्यक्तिहरुलाई विशेष ज़िम्मेवारी सुम्पदैं आफ्नै सहयोद्दाहरुलाई उपेक्षा गर्दै गईयो । यहिंबाट नै माओवादीहरु बीच विचलन पैदा भएको हो । विचलनले विभिन्न रुप लिंदै आजको यो अवस्था सिर्जना भएको हो न कि एक्कासी २०७९ को चुनावको नतिजा । हिजो २०६४ मा माओवादीले जसरी अप्रत्यासित भोट ल्याएको थियो त्यो आज २०७९मा अरु कुनै पार्टीले ल्याउँछ वा ल्यायो भने जनताले परिवर्तन त्यो बेला पनि चाहेका थिए अहिले पनि परिवर्तन नै चाहेका रहेछन् भनेर बुझ्नुपर्छ ।जनता भेडा हुन राजनिति युवासेना बुझ्दैनन भनेर कुर्लेर हुनेवाला केही छैन ।मैले प्रत्यक्ष देखे भोगे अनुसार धेरै ठाउँमा जनता हरु सजग भएका र नेताहरुलाई सचेत बनाउन बाध्य भएका हुन् कुनै रहर थिएन रगत सिंचिएर निर्माण गरेको पार्टीलाई हराउन ।
हिजो जीत दिलाउँदा जनमतको उचित सम्मान गरेको भए ठुला पार्टीहरु प्रति यतिविघ्न वितृष्णा हुने नै थिएन ।केवल सत्ताको लागि लँडाई, आलोपालो सरकारमा हुनै पर्ने, विदेशीको ईशारामा नाच्नै पर्ने भएपछि जनताको लागि देशको लागि सोंच्ने समय तपाईंहरुसंग नभएकै कारण २०७९ आम निर्वाचनको नतिजा केही नयाँको पोल्टामा पर्न गयो ।मतदातालाई गाली गरेर नबस्नुस तलदेखि माथिसम्म पहिला पार्टी भित्र लोकतान्त्रिक प्रकिया अपनाउनुस् ।अनि बल्ल देश र जनतालाई लोकतान्त्रिक बनाउन सक्नुहुन्छ ।नत्र त बेलायतमा पनि राजा फर्काईएको हो ।नेपालमा राजा फर्किनुपर्छ भन्ने मेरो आशय छैन पनि हैन पनि तर विभिन्न चरणका आन्दोलनहरु मार्फत् फालिएको राजतन्त्र भन्दा अहिलेको गणतन्त्र ठिक र राम्रो हुनु त पर्यो नि । फेरी कुरो व्यवस्था ठिक छ भन्ने आउन सक्छ म पनि भन्छु व्यवस्था यो ठिक छ तर कसका लागि ठिक छ त रु नेता मन्त्री सांसद कर्मचारी ठेकेदार र आसेपासेका लागि मात्र ठीक छ ।यस्तै हो भने त किन चाहियो गणतन्त्र किन चाहियो लोकतन्त्ररु यी प्रश्नहरु कसैले उठाउनै नसक्ने गरी जबसम्म काम हुँदैन तबसम्म विगतका कुनै पनि आन्दोलन र उपलब्धिहरुको रक्षा हुन सक्दैन ।अबका हरेक निर्वाचनबाट फेरी पनि तपाईंहरुलाई जनताले बढारेरै छोड्ने छन ।
विकास गर्न नेपालमा केन्द्रीय सरकार र स्थानीय सरकार भए पुग्छ।प्रदेश र संघ अनावश्यक हो । विभिन्न कोणबाट फेलर देखिसकियो ।
एउटा राजा ढालियो तर संघ र प्रदेशका नाममा धेरै राजाहरु जन्माईयो ।संघीयता नराम्रो आफैंमा होईन तर राज्यको सेवा सुविधा विकेन्द्रीकरण हुनु नराम्रो होईन तर स्यालों छोटे राजाहरुको जन्म गराई जनतालाई अझ थप समस्या र राज्यलाई आर्थिक बोझ थप्छ भने यसको के अर्थ । १७ हजार जनताको रगत त्यसै खेर जाने संभावना यसले बढाउँछ भने अबको काम यिनै छोटेराजाहरुलाई ढाल्ने हो र जसले यो काम गर्ने नेतृत्व लिन्छ उसैले साथ पाउँछ ।