भरतपुर : कृषि विकास कार्यालयले चितवनमा यसवर्ष धानको उत्पादकत्व घटे पनि उत्पादन बढ्ने जनाएको छ । कार्यालयका योजना शाखा प्रमुख निर्मल पौडेलले यसवर्षको बर्खे धानको जिल्लाको उत्पादकत्व प्रतिहेक्टर तीन दशमलब नौ मेट्रिक टन रहेको बताए । उनका अनुसार चितवनको धानको उत्पादकत्व र उत्पादनको विवरण निकाल्ने अन्तिम तयारीमा कृषि विकास कार्यालय जुटेको छ । शाखा प्रमुख पौडेलले भने, ‘यसवर्ष धानको उत्पादन बढ्छ, बर्खे धानको क्षेत्रफल नै अहिले बढी छ ।’
विगतका वर्षहरुमा चितवनको धानको उत्पादकत्व प्रतिहेक्टर चार दशमलब तीन मेट्रिक टन थियो । अहिले दशमलब चार मेट्रिक टन उत्पादकत्व घट्ने पौडेल बताउँछन् । उनी भन्छन्, ‘उत्पादकत्व घट्नुको प्रमुख कारण रोगकिराको प्रकोप नै हो, त्यसपछि बाढी, हावाहुरी, पर्याप्त मलको अभाव, गुणस्तरीय बीउबिजन नहुनुलगायतका कारण छन् ।’
यो साल असोजमा आएको बाढीले चितवनको खैरहनी र रत्ननगरको धानखेतीमा बढी असर गरेको कार्यालयको भनाइ छ । रत्ननगर र खैरहनीका क्षेत्रहरु धान जोन क्षेत्रमा पर्छन् । बाढीले धान जोन क्षेत्रमा बढी क्षति गरेको थियो । चितवनको ३० हेक्टरमा रहेको धानलाई गत असोजमा आएको बाढीले क्षति गरेको विवरण कृषि विकास कार्यालयले निकालेको छ ।
‘चितवनमा बाढीको कारणले धान उत्पादनमा ठूलो गिरावट आएको छैन, क्षति निकै कम भएको हो, एक साताअघि आएको बाढीले काटेको धानमा क्षति गरेको हो’, पौडेलले भने, ‘यसका बाबजुद पनि बर्खे धानको क्षेत्रफल बढेको हुनाले चितवनमा उत्पादन बढ्ने देखियो ।’
उनले यसवर्ष चितवनमा झन्डै २७ हजार हेक्टरमा धानखेती भएको बताए । उनले भने, ‘विगतका वर्षहरुमा मुस्किलले २३/२४ हजार हेक्टरमा मात्र धान लगाइएको पाइन्थ्यो, यसपटक क्षेत्रफल बढेको हुनाले धानको उत्पादन त पक्कै बढ्ने देखिएको छ ।’
आर्थिक वर्ष ०५५/५६ मा चितवनमा ३० हजार हेक्टर, ०५९/६० मा ३१ हजार १९८ हेक्टरमा बर्खे धान लगाइएको तथ्याङ्क कृषि कार्यालयसँग छ । पछिल्ला वर्षहरुमा जिल्लामा बर्खे धानको क्षेत्रफल घट्दै आएर २२ हजार ८७० हेक्टरमा सीमित थियो । माछापालन र तरकारीखेतीले धानको क्षेत्रफल घटेको बताइन्थ्यो, तर कृषि विकास कार्यालयले यसवर्ष चितवनको धानको क्षेत्रफल २७ हजार पुगेको दाबी गरेको छ ।
कृषि विकास कार्यालयले अहिलेको क्षेत्रफलअनुसार चितवनमा यसवर्ष एक लाख ५ हजार मेट्रिक टन धान उत्पादन हुने प्रक्षेपण गरेको छ, जुन गत वर्षको तुलनामा झन्डै १० हजार मेट्रिक टन उत्पादन बढी हो । ‘उत्पादकत्व घटे पनि उत्पादन बढ्ने तथ्याङ्क आउने स्पष्ट देखियो, हामी विवरण निकाल्ने अन्तिम तयारीमा छौँ’, योजना शाखा प्रमुख निर्मल पौडेलले भने ।
चितवनमा चैते धानको क्षेत्रफल बर्सेनि बढ्दै गएको छ । चैतमा धानको उत्पादकत्वमा सुधार आएको छ । आर्थिक वर्ष ०५५/५६ मा चैते धानको क्षेत्रफल तीन हजार ७५० हेक्टर थियो, तर ०७९/८० मा आइपुग्दा चैते धानको क्षेत्रफल बढेर पाँच हजार पाँच सय नाघेको छ । चैते धानको उत्पादकत्व बर्खे धानको तुलनामा बढी छ । चैते धानको उत्पादकत्व प्रतिहेक्टर पाँच दशमलब ६ टन रहेको कृषि विकास कार्यालय चितवनले जनाएको छ ।